पार्टी विघटन हुनसक्ने प्रचण्डको चेतावनी

काठमाडौं, १३ बैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा चरण्म गुटबन्दी बढेको बताउँदै यस्तै रवैया जारी रहे पार्टी विघटन हुने चेतावनी दिए । अध्यक्ष दाहालले नेताहरूको कार्यशैली नसुध्रिए पार्टी विघटन हुन बेर नलाग्ने बताए ।
एमाओवादी काठमाडौं जिल्ला सम्मेलनमा शनिबार बोल्दै अध्यक्ष दाहालले नेताहरूको कार्यशैलीमा रूपान्तरण गरी गुटबन्दी अन्त्य गर्नु आवश्यक रहेको तर्क गरे । अध्यक्ष दाहाल आफ्नो पार्टीमा पद मात्रै खोज्नेको संख्या पनि दिन दिनै बढ्दै गएको भन्दै आक्रोशित पनि देखिन्थे । उनले पार्टीमा स्थायी, पोलिटव्यूरो र केन्द्रीय समितिमा ठाउँ खोज्नेहरू अन्य पार्टीमा गए पनि कुनै फरक नपर्ने बताए । ‘पद मात्रै खोज्नेहरू अरु पार्टीमा गए पनि केही फरक पर्दैन,’ उनले भने, ‘काम नलाग्ने ठूलो पार्टीभन्दा सानै पार्टी ठीक छ ।’
पार्टी चुस्त दुरुस्त हुन नसक्नुमा हेटौँडा महाधिवेशनको कार्यदिशा पालना हुन नसक्नु मुख्य कारण रहेको उनको भनाई छ । उनले पार्टी र नेताहरूलाई रूपान्तरण गर्न महाधिवेशन गर्नुपरेको उल्लख गरे । ‘कार्यदिशा सच्याउन हामीहरूले महाधिवेशन गर्दैछौं,’ अध्यक्ष दाहालले भने, ‘पार्टीलाई विघटनबाट जोगाउन गुटबन्दी अन्त्य हुनुपर्छ ।’ कार्यक्रममा अध्यक्ष दाहालले झण्डै ३५ मिनेटसम्म आफ्नो मन्तब्य राखेका थिए । उनले काम नलाग्ने मान्छे थुपारेर पार्टी चलाउनुको औचित्य नहुने पनि तर्क गरे ।
‘हाम्रा पार्टीका केही नेताहरूले आफूले मागेको पद नपाए पार्टी नै छोड्ने भन्दैछन् रे, मैले भनेको छु तिनलाई जान दिऔं किनकी ३५ जनाको केन्द्रीय समिति हुँदा सबैभन्दा ठूलो पार्टी बन्यौं, २ सय ७० जनाको हुँदा तेस्रो पार्टी’ उनले भने सोही कार्यक्रममा नेता डा. बाबुराम भट्टराईले कार्यदिशाले मात्रै पार्टीलाई विघटनबाट जोगाउन नसक्ने भन्दै शैली र पद्धतीको विकास गर्न जरुरी रहेको धारणा राखे । नेता नारायणकाजी श्रेष्ठले पार्टीले वर्गीय मुद्दा छाडेको दाबी गरे । कपनमा सुरु भएको दोस्रो काठमाडौं जिल्ला सम्मेलनका लागि हिसिला यामीको संयोजकत्मा सात सदस्यीय अध्यक्ष मण्डलसमेत गठन गरिएको छ ।
नेकपा–माओवादीमा पनि विवाद
नेकपा–माओवादीको जारी जिल्ला सम्मेलनमा कुर्सी हानाहान भएको छ । महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्द पक्षबीच नेतृत्व चयनमा विवाद भएपछि कुर्सी हानहान भएको हो ।
हलका पाँचवटा भन्दा बढी कुर्सी भाँचिएका छन् । थापा पक्षले एक पक्षीयरूपमा ९९ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरेको आरोप अर्को पक्षको छ । चन्द पक्षले निर्वाचनद्वारा जिल्ला नेतृत्व माग गरेको छ । थापा पक्षबाट सुरेश श्रेष्ठ र चन्द पक्षबाट पुस्कर श्रेष्ठले जिल्ला नेतृत्वको दाबी गर्दै आएका छन् ।
सम्मेलनमा संस्थापन पक्षीय पम्फा भूसाल, दिनेश शर्मा र दिलिप प्रजापतिले प्रस्तुत गरेको ९९ सदस्यीय जिल्ला समिति प्रस्ताव गरेको हो । विवाद मिलाउन बसेकी भूसाललाई कार्यकर्ताले घेराबन्दीमा राखेका थिए । ‘केन्द्रीय नेताहरूको प्रस्ताव अस्वीकृत गरेर कार्यकर्ताले माइक खोस्ने काम गरे,’ एक सहभागीले भने, ‘त्यसपछि चन्द समूहका कार्यकर्ता आक्रोसित भएर कुर्सी हानाहान र तोडफोडमा उत्रिएपछि स्थिति पूरै तनावमय बन्यो ।’ यसअघि भक्तपुर र बारामा पनि थापा र चन्द पक्षले सामान्तर जिल्ला समिति घोषणा गरेका छन् । चन्दले जनयुद्धको जगमा जनविद्रोहको विचारको नेतृत्व गर्दै आएका छन् ।
थापाले रणनीतिक जनयुद्ध भन्ने विचारको नेतृत्व गरेका छन् । चन्द पक्षले थापाको लाइनलाई चलाखी र क्रान्तिबाट भाग्न खोजेको आरोप लगाउँदै आएका छन् । थापा पक्षले भने चन्दले भनेजस्तो जनविद्रोह तत्कालका लागि संभव नभएको तर्क गर्दै आएको छ । विवादकै कारण ललितपुरमा पनि जिल्ला नेतृत्व चयनमा तनाव देखियो । यसले गर्दा आगामी जेठ अन्तिम साता हुने राष्ट्रिय सम्मेलनमा थापा र चन्द पक्षबीच थप द्वन्द्व हुने अवस्था देखिएको छ ।

प्रतिक्रिया