बागमती सफाई अभियानमा राष्ट्रपति पनि सहभागी

काठमाडौं, १३ बैशाख । ५० हप्ता अगाडिबाट शुरु भएको बागमती सफाई महाअभियानमा राष्ट्रपति डाक्टर रामवरण यादव पनि शनिबार सहभागी भए । पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी मन्दिरबाहिर आयोजित कार्यक्रममा राष्ट्रपति यादवसँगै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, सहरी विकासमन्त्री डा. नारायण खड्कालगायत सहभागी थिए ।
राष्ट्रपति यादवले सम्बोधन गर्नु अगाडि बागमती नदीको जल सेचन पनि गरेका थिए । सो अवसरमा बोल्दै राष्ट्रपति डा. यादवले काठमाडौं उपत्यकाको सदियांै पुरानो सभ्यता बोकेको वाग्मतीको प्रदूषण र वातावरणीय ह्रास सबैको चुनौती बनेको धारणा राखे । ‘वाग्मती प्रदूषणले समग्र सभ्यतालाई प्रदूषित बनाएको छ, अव्यवस्थित बसोवास, नदी नियन्त्रण नहुनु, फोहर र ढलको अव्यवस्थित प्रयोग तथा नदीको बालुवा निकाल्ने प्रवृत्तिले वाग्मती नदी प्रणालीमा विचलन आएको छ । सरकारको प्रयासले मात्र यो समस्या समाधान हुँदैन यसमा आम जनसमुदाय र संस्थाहरूको सामूहिक सक्रियता चाहिन्छ’, उनले भने ।
संविधानसभाका अध्यक्ष नेम्वाङले ०१५ सालमा पहिलोपटक उपत्यका प्रवेश गर्दा देखेको बागमतीको स्वच्छताको स्मरण गर्दै भने, ‘त्यतिखेर सफा र सुन्दर बागमतीमा हामी केटाकेटी खेल्थ्यौं, मैले सानो छँदा बागमतीमा माछा खेलिरहेको देखेको थिएँ । उच्च शिक्षा हासिल गर्नेबेला बागमती ढलका रूपमा परिणत भइसकेको थियो तर आज सफाइ महाअभियानले फेरि स्वच्छ हुने क्रममा छ ।’
सहरी विकासमन्त्री डा नारायण खड्काले बागमती धार्मिक, सांस्कृतिक ऐतिहासिक समग्र सभ्यताको प्रतीक भएको र सफाई अभियान महाक्रान्तिका रूपमा परिणत भइसकेकाले नेपाललाई नयाँ युगमा लैजान बागमती सभ्यताको संरक्षण प्रवद्र्धनमा हरेक घर, परिवार, समाज र टोलबाट उठनु पर्ने धारणा राखे ।
अभियानमा नागरिक समाज, कलाकार, सर्वसाधारण र ३५० भन्दा बढी संघ–संस्थाका प्रतिनिधि, विभिन्न स्कुल/कलेज, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय छन् । शनिबार पनि विभिन्न संस्थाको सक्रियतामा गुह्येश्वर र त्यस आसपासको बागमती क्षेत्रमा सरसफाई गरिएको थियो ।

प्रतिक्रिया