चितवन, १३ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक अन्यौलताका कारण राज्य कमजोर बन्दै गएको बताएका छन् । पृथ्वीनारायण शाह प्रतिष्ठानले चितवनको नारायणगढमा शनिबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै पूर्वराजा शाहले जनतामा निराशा बढ्दै गएको जीकिर गरे ।
उनले आफ्नो सम्बोधनमा नेपालको राष्ट्रियता र अस्तित्वको चिन्ता गर्दै यस्तो धारणा राखे । उनले वर्तमान नेपाल हुनुमा आफ्ना पूर्खा पूर्वराजा पृथ्वीनारायण शाहको योगदान भएको चर्चा पनि गरे । विगत सात–आठ वर्षमा देश सबै रूपमा कमजोर हुँदै गएको तर्कसमेत उनले गरे । उनले नेपालको राष्ट्रियता कमजोर हुँदै गएको दाबी गर्दै जनताले त्यसबारे आफूसँग गुनासो गर्ने गरेको दाबीसमेत गरे ।
उनले भने, ‘जनताद्वारा निर्वाचित प्रतिनिधिमार्फत् संविधान निर्माणका क्रममा केहीको मात्र हैकम हुनुहुन्न । संविधानसभाले सबैका विचार मान्यता र आस्था समेट्नुपर्छ, कसैप्रति विभेद र खेदको दृष्टि राख्नुहुदैन ।’ राज्य पुन:संरचनाप्रति चासो व्यक्त गर्दै पूर्वराजा शाहले त्यस क्रममा राष्ट्रियता र जनताबीचको एकतालाई ध्यान दिनुपर्ने पनि बताए ।
आफूसँगको भेटमा जनताले राजनीतिक परिवर्तनप्रति असन्तुष्टि पोख्ने गरेको उनको दाबी थियो । संक्रमणकाल लम्बिएको, दण्डहीनता बढेको, शान्ति सुरक्षा कमजोर भएको तथा देशको गिर्दो अवस्थाप्रति जनताले गम्भीर गुनासो गर्ने गरेको उनले बताए । ‘धर्म, संस्कृति, लोकनीति पद्धतिमा आँच, विकृति, विसंगति बढयो भन्ने बेदना विभिन्न जनजातिमा रहेको पाएको छु, विविधता भएको देशमा एकता कसरी ल्याउने चिन्ता पनि पाएको छु’, उनले भने ।
शुक्रबारदेखि चितवनमा रहेका शाहले सो क्षेत्रका विभिन्न मठमन्दिरमा पूजाअर्चनासमेत गरे ।
प्रतिक्रिया