उद्योगको धुँवाले सहर प्रदुषित

बारा, १२ बैशाख । जगदम्बा स्टिल्सबाट दैनिकजसो निस्कने गरेको विषालु धुँवाले बाराका बासिन्दाको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । जनताले पटक–पटक सो उद्योगबाट निस्कने धुँवाको विषयलाई लिएर प्रशासन नगुहारेका होइनन् । गतफागुनमा मात्रै पनि सो उद्योगबाट निस्केको धुँवाले सिमरा बजार नै ढाकेपछि स्थानीय बासिन्दाले जगदम्बा स्टिल्सको कारखानानै बन्द गराएका थिए । तर स्थानीयप्रशासनले साथ नदिएपछि जनता नीरिह बने ।
जनता बिरोधमा उत्रेपछि प्रदुषणमा केही कमी भए पनि त्यो नियन्त्रण हुन सकेको छैन । सो उद्योगले पुन: पुरानै रवैयाअनुसार प्रदुषण शुरु गरेको स्थानीयबासिन्दा बताउछन् । सो उद्योगको हेपाहा प्रबृती विरुद्ध जनताले आन्दोलन गर्ने चेतावनी समेत दिइसकेका छन् । तर पनि कंपनीले कुनै सुनुवाई नगरेको गुनासो स्थानीय बासिन्दाको छ । बारामा जगदम्बा स्टिल्स मात्र होइन यस्ता दर्जनौ प्रदुषित धुँवा निकाल्ने उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट निस्कने धुँवाले जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । सो क्षेत्रका जनता विरामी पर्ने र विभिन्न खाले रोगले समेत ग्रस्त हुन थालेको बताइन्छ ।
स्थानीयबासिन्दाका अनुसार उद्योगहरु नाफामा मात्रै केन्द्रित छन् । उनीहरुले जनताको स्वास्थ्य प्रति संवेदनशीलता देखाएका छैनन् । बाराको औद्योगिक क्षेत्र भनेर चिनिने सिमरा गाविसका जनता यतिबेला उद्योग र कारखानाबाट निस्कने प्रदुषणको सास्ती खेपिरहेका छन् । सिमरा गाबिसमा रहेका झण्डै दुई दर्जन कलकारखानाको धुलो, धुँवा र खारले स्थानीय बासीन्दालाई पीडित बनाएको छ । नेपालका ठूला उद्योगको रुपमा रहेको स्टिल कारखाना र सुर्य नेपालको नाममा उत्पादन हुने चुरोट कारखानाबाट निस्कने धुँवाले सो क्षेत्रका बासिन्दा आजित भएका छन् ।
सिमरा बजारमौ रहेको सुर्य नेपालबाट निस्कने चुरोटको खार र दैनिक दर्जनौ पटक बजाइने साइरनले स्थानीय वासीन्दालाई आक्रान्त बनाइरहेको छ । सो विषयमा स्थानीय जनताले कारखाना र सम्बन्धित प्रशासनमा समेत गएर गुनासो गर्दा समेत कुनै सुनुवाई हुन सकेको छैन । सूर्य नेपालले मध्य रातमा समेत पटक पटक साइरन बजाउने गरेको स्थानीयबासिन्दा बताउछन् ।
सिमरा गाबिसका निवर्तमान अध्यक्ष भोला अधिकारी भन्छन् ‘दिन भरी थाकेर आयो राती सुत्न पाँइदैन । यसो निन्द्रामा परेको हुन्छु सुर्य नेपालको साइरन हुइइइ गर्न थाल्छ ।’ उनले भने ‘यहाँका जनताले चुरोट खानै पर्दैन सूर्य नेपालले सितैमा निकोटिन बाडेको छ । यस बारे धेरैपटक गुनासो गर्‍यौं । यहाँको ब्यवस्थापन हामीले जति भने पनि टेर्दैन । सिमराका पच्चिस हजारभन्दा बढि जन संख्या उद्योगबाट निस्कने दर्गन्धीत पानी, बेला कुबेला बज्ने साइरन, धुलो र धुँवाको मारमा छौं ।’
सिमरा गाविसभित्र हुलास स्टिल, जगदम्बा, हामा आइरन, अग्रुणी, साख स्टिल, सावुन, वनस्पती तेल र काठको घुलो पेल्ने दर्जनौ उद्योग छन् । तिनीहरुबाट निस्कने धुँवाले सिमराको आकास दैनिक जसो कालाम्य भएको हुन्छ । त्यती मात्र होइन केही समययता सिमरा बजारको बीचबाट जगदम्बा स्टिलबाट निस्कने गरेको तेजाव मिसिएको पानी पनि बगिरहेको छ । जसका कारण बजार र राजमार्ग हिड्नेहरुलाई समेत कठिनाई उत्पन्न भएको छ ।

प्रतिक्रिया