काठमाडौं, १२ बैशाख । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा एमाओवादीका नेता डा. बाबुराम भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । खम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राईले सोही पदका लागि लदिएको उम्मेदवारी फिर्ता लिएपछि भट्टराई सर्वसम्मत सभापति भएका हुन् ।
संवाद समितिमा निर्वाचित भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले संविधानसभाको सबैभन्दा महत्वपूर्ण समितिमा निर्वाचित भएकाले पार्टीभन्दा माथि उठेर जनताले अपेक्षा गरेको संविधान जारी गर्न भूमिका खेल्ने बताए । सो क्रममा उनले प्रमुख दलबीच सहमति कायम गरी माघ ८ भित्र संविधान जारी गर्न लागि पर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख तीन दलसहित मधेसवादी र अन्य साना दलबीच सहमतिका आधारमा बिहीबार उम्मेदवारी दर्ता भएको थियो ।
यस्तै संविधान मस्यौदा समितिको सभापतिमा कांग्रेसका कृष्ण सिटौला, अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापतिमा एमालेका विष्ण्ुा पौडेल, क्षमता अभिबृद्धी समितिको सभापतिमा लक्ष्मी चौधरी र नागरिक सम्वन्ध समितिको सभापतिमा प्रमिला राना निर्वाचित भएका छन् । संविधान मस्यौदा समितिका सभापति सिटौलाले माघको पहिलो हप्ताभित्र संविधान घोषणालाई आधार बनाएर काम गर्ने जनाएका छन् । १२ बुँदे सहमतिबाट सुरु भएको नयाँ राजनीतिक विकासक्रम संविधान जारी गरेपछि मात्रै सकिने उनको भनाई थियो । नवनिर्वाचित सभापतिहरुको सपथ शनिबार विहान ११ बजे हुनेछ । पहिलो बैठक १५ गते सोमबार बस्नेछ ।
दलीय सहमतिअनुसार संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापतिमा नेकपा (एमाले) का विष्ण्ुा पौडेल र संविधान मस्यौदा समिति सभापतिमा कांग्रेस महामन्त्री कृष्ण सिटौला निर्वाचित भएका हुन् । जेष्ठ सदस्य सूर्यबहादुर थापाले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । प्रमुख दलहरुले निषेधको राजनीति गरेको भन्दै राप्रपा नेपालले भने चुनावी प्रक्रिया बहिस्कार गरेको थियो ।
प्रतिक्रिया