काठमाडौं, १२ वैशाख । पेट्रोलियम पदार्थको सहज आपुर्तीका लागि सरकारले आफू जमानी बसेर नेपाल आयल निगमलाई साढे २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को शुक्रवारको बैठकले पेट्रोलियम पदार्थको आपूति सहज गराउन निगमलाई ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।
सो ऋण सरकारले सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई उपलब्ध गराउने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । निगमले भारतीय आयल कर्पोरेशनलाई बक्यौता रकम बुझाउन नसक्दा पेट्रोलियम पदार्थको आपुर्ती सहज हुन सकेको छैन । जसका कारण सर्वसाधारण घण्टौ लाइनमा बस्न बाध्य छन् ।
यस्तै बैठकले पहिलो पटक टवान्टी–ट्वान्टी विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी, व्यबस्थापक र प्रशिक्षकलाई ५–५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय पनि गरेको छ । शुक्रबारकै मन्त्रिपरिषद बैठकले सांसद् विकास कोषमार्फत् सांसदहरुको लागि १०–१० लाख रुपैयाँ र नेपाल पत्रकार महासंघको आगामी अधिवेशनको लागि २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । पत्रकार महासंघको अधिवेशन आगामी २० र २१ वैशाखमा काठमाडौंमा हुदैछ ।
यस्तै शिक्षा नियमावलीमा संशोधन गर्दै अस्थायी शिक्षकहरुलाई २०७५ सम्मका लागि एक पटकमा ६ महिना भन्दा बढीको म्याद नथप्ने गरी राख्न मिल्ने व्यवस्था गरेको छ । यस्तै बैठकले नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई शान्ति सेनाको कमाण्डरका लागि प्रतिस्पर्धा गर्ने स्वीकृति दिएको छ । बैठकले नर्वे सरकारले स्थानीयसामुदायिक विकास कार्यक्रमको लागि उपलब्ध गराएको ९३ करोड ५० लाख रुपैयाँ स्वीकार्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया