नेपाललाई युवाको साथ

mainकाठमाडौं १०, बैशाख । नेकपा एमालेका प्रभावशाली युवा नेताहरुले आगामी नवौं महाधिवेशनमा अध्यक्षका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सार्ने घोषणा गरेका छन् । राजधानीको इन्द्रेणी फुडल्याण्डमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनीहरुले यस्तो घोषणा गरेका हुन् । मदनभण्डारी फाउण्डेशनले मंगलबार राजधानीमै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम र महासचिव इश्वर पोख्रेलले आगामी महाधिवेशनले सर्वसम्मतरुपमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका थिए । उनीहरुको यस्तो भनाई सार्वजनिक भएकै एक दिनपछि सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, डा. विजय पौड्याल र अरुण नेपाललगायत युवा नेताले नेपालको नाम अघि सारेका हुन् ।
एमालेले आगामी जेठको अन्तिम साताका लागि महाधिवेशनको मिति तय गरेको छ । अध्यक्ष खनालले भने पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै आगामी महाधिबेसनलाई एकताको महाधिवेशन बनाउने बताउँदै आएका छन् । खनालले हरेक कार्यक्रममा नेताहरुलाई बहसका नाममा तल्लोस्तरको घोचपेचमा नउत्रिन आग्रह गर्दै आएका छन् । ओली र नेपालले भने हरेकजसो कार्यक्रममा आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।
फाउण्डेशनले राजधानीमा मंगलबार गरेको अन्तरक्रियामा पनि ओली–नेपाल दुबैले खुलेरै आफू अध्यक्षका लागि योग्य रहेको दाबी गरेका थिए । बुधबारको कार्यक्रममा नेपाल र खनाल निकटका युवा नेताको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै युवा नेता घनश्याम भुषालले हरेक हिसाबले माधव नेपाल आगामी महाधिवेशनबाट अध्यक्ष बन्न योग्य रहेको दाबी गरे । ‘विचार, सिद्धान्त र स्वास्थ्य सबै दृष्टिले एमालेलाई उहाँ (माधवकुमार नेपाल) को जरुरी छ,’ भुषालले भने ।
उनले महाधिवेशनको सवालमा फलानो कामरेड बिरामी हुनुहुन्छ, फलानो कमरेडले आजसम्म नेतृत्व गर्नुभएको छैन भनेर गरिएको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ को आलोचना गरे । ‘अहिलेसम्म अध्यक्ष नभएको हुनु र स्वास्थ्यजस्ता कुरालाई पार्टीको अध्यक्षको योग्यताको मापक बनाउन खोज्नु जायज होइन,’ उनले ओलीप्रति संकेत गर्दे भने, ‘बरु छलफल गरौं, एक, दुई, तीन मापदण्ड बनाउँ र नयाँ नेतृत्व छानौं ।’
एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डेले पनि पार्टीलाई गतिशील भएर हाँक्नसक्ने भएकाले आफूहरुको विचारको प्रवक्ताका रुपमा वरिष्ठ नेता नेपाललाई अघि सार्ने निर्णय भएको बताए । ‘टोपी कस्तो रहनेछ र टोपीका साथमा लाइने पोशाकहरु कस्ता हुनेछन् भन्नेबारे हामीबीच छलफल जारी छ,’ उनले भने, ‘टोपीका रुपमा हामीले वरिष्ठ नेता नेपाललाई अघि सारेका छौं ।’ अहिलेसम्म पार्टीमा गरेको योगदान र विचार मिल्ने व्यक्ति भएकाले नेपालको विकल्प नभएको उनको तर्क थियो ।
नेपालले नेतृत्व लिदाँ पार्टी एकढिक्का भएर अघि बढ्ने उनको धारणा थियो । अर्का नेता वेदुराम भुषालले पनि नेपालको विकल्प नभएको तर्क गरे । उनले उपाध्यक्ष वामदेव गौतम पनि विचारका हिसावले नेपाल निकट भएको भन्दै विचार मिल्लेबीच एकता हुने दाबी गरे । युवा नेता योगेश भट्टराईले आगामी महाधिवेशन आन्तरिक एकताको महाधिवेशन हुने दाबी गरे । उनले लामो विगत र छोटो भविश्य भएका नेतालाई सम्मान गर्दै छोटो विगत र लामो भविश्य भएका युवाले आगामी दिनमा पार्टी नेतृत्व सम्हाल्ने दाबी गरे ।
यता, दुई पक्षको जुहारी चलीरहे पनि पर्यटन तथा नागरिक उड्यान मन्त्री भीम आचार्यले वर्तमान अध्यक्ष झलनाथ खनाल नै फेरि सर्वसम्मत अध्यक्ष हुने दाबी गरेका छन् ।

प्रतिक्रिया