काठमाडौं ६, बैशाख । नेकपा एमालेका शीर्ष नेताहरुले पार्टीको आगामी नवौं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरेका छन् । नेकपा एमाले मेची अञ्चल सम्पर्क कमिटीले आयोजना गरेको शुभकामना आदन–प्रदान कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले आगामी महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तर्क गरे । उनले विगतका महाधिवेशनपछि गुटबन्दी हावी भएर पार्टी कमजोर भएको तर्क गर्दै आगामी दिनमा त्यस्तो हुन दिन नहुने धारणा राखे ।
‘पार्टीभित्र गुटबन्दी नभएको भए, पार्टी सदस्य पाँच लाख पुग्ने थिए,’ उनले भने, ‘आगामी महाधिवशेनमा हामी यसबाट पाठ लिएर सर्वसम्मत नेतृत्व छनोट गर्ने छौं ।’ आगामी दिनमा पार्टीभित्रको गुटबन्दी अन्त्य हुने हो भने पाँच लाख सदस्य बनाउन कुनै समस्या नहुने उनको दाबी थियो ।
कार्यक्रममा खनालले जतिसक्दो छिटो स्थानीय निकायको निर्वाचनको घोषणा गर्न सरकारसँग माग पनि गरे । उनले लोकतन्त्रलाई संस्थागत रुपमा अघि बढाउन पनि स्थानीय निकायको निर्वाचन आवश्यक भएको दाबी गरे ।
सोही कार्यक्रमलाई सम्वोधन गर्दै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि आगामी महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तर्क राखे । उनले पर्शुरामको युग अन्त्य भएको र रामको युगको शुरुवात भएको जीकिर पनि गरे एमालेको आगामी नवौं महाधिवेशनतर्फ केन्द्रित गर्दै उनले भने, ‘अब बञ्चरा चलाउँनेको युग गयो, अब थोत्रा कुरा मात्र लिएर अघि बढ्ने हो भने पार्टी चल्दैन ।’ उनले पार्टीलाई अध्यावधिक गर्नुपर्ने बेला आएको बताए । उनले एमालेका लागि २०७१ अवसरको वर्ष भएको दाबीसमेत गरे । ‘एमालेको महाधिवशेनको वर्ष भएकाले मात्र यो साल एमालेका लागि अवसरको वर्ष भएको होइन,’ उनले भने, ‘संविधान निर्माणलाई पूर्णता दिने कुराले पनि यो वर्ष अवसरको वर्ष हो ।’ उनले संविधान निर्माणमा नलाग्ने दललाई खुट्टा टेकाएर भए पनि २०७१ सालभित्रै संविधान जारी गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा एमाले महासचिव इश्वर पोख्रेलले समेत आगामी महाधिवेशने सर्वसम्मत रूपमा नेतृत्व छनोट गर्ने दाबी गरे । उनले कार्यक्रममा २० वर्षसम्म अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व लिएको भन्दै आगामी महाधिवशेनबाट केपी ओलीले पार्टीको नेतृत्व गर्नु पर्ने विचार राखेका थिए ।
‘खनाल र नेपालले २० वर्ष पार्टीको कुशल ढंगले नेतृत्व गर्नुभयो,’ उनले भने, ‘अब फेरि नेतृत्व गर्ने इच्छा उहाँहरुले गर्नु हुनेछैन ।’ उनले उपाध्यक्ष वामदेव गौतम र विद्यादेवी भण्डारीले पनि अध्यक्षको दाबी नगर्ने तर्क गरे । ‘म महासचिव पनि अध्यक्षको दाबी गर्ने पक्षमा छैन,’ उनले भने, ‘त्यसैले आगामी महाधिवेशनबाट नेतृत्व छनोट सर्वसम्मत हुनेमा कुनै शंका छैन ।’
खनाल–ओली भेट
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । संसदीय दलका नेता ओलीलाई भेट्न खनाल बालकोटस्थित ओली निवास पुगेका थिए । दुई नेताबीच जेठमा हुने नवौं महाधिवेशन र देशको समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको थियो । भेटमा खनालले ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । करीब डेढ महिना लामो उपचारपछि दिल्लीबाट फर्केका नेता ओलीलाई वरिष्ठ नेता नेपालले पनि यस अघि नै भेटिसकेका छन् ।
प्रतिक्रिया