हिमपहिरोमा १२ को मृत्यु

सोलुखुम्बु, बैशाख ५ । सगरमाथा क्षेत्रमा हिम पहिरोमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । आधार शिविर र शिविर–१ बीचमा हिमपहिरामा परी शुक्रबार बिहान उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा दोर्जी शेर्पा, आङछिरिङ शेर्पा, मिङमा शेर्पा, ङिमा शेर्पा, आङकाजी शेर्पा, पासाङ कर्मा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, छिरिङ बाङ्चु शेर्पा, वाङगले शेर्पा खेमदोर्जे तामाङ, फुर्वातेम्बा शेर्पा र आसमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी घाइते वाकु चार सोलूका २६ वर्षीय फुरी शेर्पालाई उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको छ । घाइते मुस्ताङका छिमी गुरुङ, टाक्सिन्दु सोलुका काजी शेर्पा र केरुङका काजी शेर्पाको लुक्लामा उपचार भइरहेको बताइएको छ । पहिरोमा पर्नेहरू हिमालयन गाइड नेपाल, शेर्पा अल्पाइन गाइड, एशियन ट्रेकिङ र समित नेपालको ट्रेकिङ एजेन्सीमार्फत् सगरमाथा क्षेत्रतर्फ गएका थिए ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चेका अनुसार बिहान ७ बजेतिर आधार शिविरबाट शिविर–१ का लागि भारी लिएर गएका १५ जनाको टोली हिमपहिरोमा परेको हो । सो दुर्घटनामा विदेशी कोही पनि नपरेको जानकारी अधिकारीहरूले दिएका छन् ।

प्रतिक्रिया