नियमविपरीत बढुवा गर्दै सेना

senaकाठमाडौं, ५ बैशाख । नेपाली सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहका पूर्वएडिसीलाई नियमविपरीत बढुवाका लागि सिफारिस गरेको छ । गतसाता बसेको बढुवा छनौट बोर्डको बैठकले प्रमुख सेनानी मधुकर कार्कीलाई महासेनानीमा बढुवा सिफारिस गरेको हो । कार्की ३० बेसिकका सैनिक अधिकृत हुन् । सैनिक स्रोतकाअनुसार कार्कीलाई फास्ट ट्रयाकको बढी योग्य समूहबाट बढुवाका लागि सिफारिस गरिएको हो । उनी नेपालमा राजसंस्था रहेको बेलामा दरवारमा कार्यरत सैनिक अधिकृत हुन् ।
सेनाको बढुवा समितिको अध्यक्ष भने बलाध्यक्षरथी प्रदिपविक्रम राणा रहेका छन् । सो समितिको सदस्य सचिवमा सैनिक सचिव सहायकरथी दिपक भारती छन् । बोर्डमा कार्यरथी विभाग र १ बाहिनीका बाहिनीपतिका साथै सैनिक मुख्यालयमा कार्यरत एक जना दुई तारे जर्नेलसमेत रहेका छन् ।
बढुवा समितिले ३० बेसिकका कार्कीलाई महासेनानीमा सिफारिस गर्नुका साथै स्टाफ कलेज नगरेका अन्य तीनलाई पनि महासेनानीमा बढुवा सिफारिस गरेको छ । स्टाफ कलेज नगरेकामा सन्तोषज्युजंग ठाकुर, प्रकाशजंग कार्की र भगवान खत्री रहेका छन् । कार्कीले स्टाफ कलेज बेलायतको रोयल मिलिटेरी ऐकेडेमीबाट गरेका हुन् । स्रोतकाअनुसार प्रधानसेनापति राणा र रथी पवन पाण्डेको सिफारिसमा कार्की बढुवामा परेका हुन् ।
सेनामा दरबार बसेका सैनिक अधिकृतलाई पदोन्नति गर्दा आफ्नै बेसिककासँगै बढुवा गर्ने प्रचलन रहे पनि कार्कीलाई भने फाष्ट्र ट्रयाकको दुरुपयोग गरेर महासेनानीमा बढुवा गरेको भन्दै केही उच्च सैनिक अधिकारी असन्तुष्ट देखिएका छन् । सेनामा जुनियरलाई बढुवा सिफारिस गरिएको भन्दै केही सैनिक अधिकारी असन्तुष्ट बनेका छन् ।
सेनाका एक उपरथीले सौर्य दैनिकसँग भने, ‘सिनियर र सक्षम प्रमुख सेनानीहरू हुँदाहुँदै जुनियर प्रमुख सेनानीलाई बढुवा सिफारिस गरेर फाष्ट ट्रयाकको दुरुपयोग गर्ने काम भएको छ, यसमा सरकारले बिचार गर्नुपर्छ ।’
सेनाको बढुवा समितीले कार्कीसहित १३ प्रमुख सेनानीलाई महासेनानीमा सिफारीस गरेको भए पनि यसको अन्तिम टुंगो भने आगामी आइतबार प्रधानसेनापतिले लगाउनेछन् ।
बढुवा समितिले महासेनानीमा सिफारिस गरेका अन्य प्रमुख सेनानीहरूमध्ये अतियोग्य समूहबाट २७ बेसिकका सन्तोषबल्लव पौडेल, २८ बेसिकका विष्णु रावत र गणेश श्रेष्ठ रहेका छन् । त्यसैगरी, बढीयोग्य समूहबाट २८ बेसिककै चोक बहादुर ढकाल, २७ बेसिकका प्रकाशराज आर्चाय, २७ बेसिककै पवन घिमिरे, २८ बेसिकका हेमराज केसी, कृष्णमान श्रेष्ठ र  आनन्दसिंह भाट रहेका छन् ।
प्रधानसेनापति गौरवशमशेर राणा मलेसिया भ्रमणबाट शुक्रबार साँझ स्वदेश फर्के लगत्तै बढुवा समितिका अध्यक्ष रथी प्रदिपविक्रम राणासहित बोर्डका सदस्यहरू बढुवाबारे बिफ्रिङ गर्न सेनापतिको निवास शशिभवन पुगेका थिए । सेनापतिले यसअघि बढुवा समितिले सिफारिस गरेका व्यक्तिलाई हटाएर आफू अनुकुलका सैनिक अधिकारीलाई राख्ने गरेको पनि इतिहास नेपालमा छ । त्यसैले बढुवा समितिको सिफारिस नै अन्तिम नहुने भए पनि बोर्डले नियमविपरित कार्कीलाई महासेनानीमा बढुवाका लागि सिफारीस गरेको हो । महासेनानीको बढुवा भने प्रधानसेनापतिको सिफारिसमा रक्षा मन्त्रालयमार्फत् मन्त्रीपरिषद्ले गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया