काठमाडौं, बैशाख ५ । नेपालमा दिने सहयोग पारदर्शी बनाउन प्रधानमन्त्री सुशील कोइरालाले नर्वेली राजदूतलाई आग्रह गरेका छन् । नर्वेली राजदूत केजल टोर्मड पिटरसनसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री कोइरालाले साउथ एसिया ट्रस्टलाई नर्वेली दूतावासले दिएको ६ करोड २८ लाख रुपैयाँका बारेमा जिज्ञासा राखेका थिए ।
‘पारदशिर्ता, उत्तरदायित्व र जिम्मेबारी नै लोकतन्त्रको मूल मर्म हो,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले बतायो, ‘म चाहन्छु तपाईहरूले दिने हरेक सहयोग पारदर्शी होस् ।’ भेटका क्रममा राजदूत पिटरसनले सो सहयोग दुरुपयोग भए नभएकोबारे छानबिन हुने दाबी गरेका थिए ।
प्रचण्डसँग पनि नर्वेली दुतको भेट
नर्वेली राजदूतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि शुक्रबारै भेटेका थिए । उनले एमाओवादीले संसद्मा उठाएको विषयबारे चासो व्यक्त गर्दै आफ्नो तर्फबाट शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहयोग जारी राख्ने बताएका थिए ।
दाहालसँगको भेटमा पनि साउथ एसिया ट्रस्टलाई दिइएको रकमबारे चर्चा भएको थियो । यसअघि अमेरिकी राजदूत पिटर बोडे पनि शुक्रबार दाहालनिवास लाजिम्पाट पुगेका थिए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकबारे जिज्ञासा राखेको बताइएको छ ।
दुरुपयोगबारे छानविन हुने
नर्वेले नेपालमा शान्तिसम्बन्धी गतिविधिविरुद्ध सहायता नगरेको दाबी गरेको छ । नेपालमा नर्वेली सहायता दुरुपयोग भएको आरोपयुक्त समाचार सार्वजनिक भएपछि काठमाडौंस्थित नर्वेली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गरी ग्रामीण विकास, नवीकरणीय ऊर्जा, मानवअधिकार, लैंगिक समानता, प्रजातन्त्र, शान्ति र मेलमिलापका निम्ति नेपालमा सहयोग गर्दै आएको जीकिर गरेको छ ।
प्रारम्भदेखि नै नेपालको शान्ति प्रक्रियामा नर्वेले सघाउँदै आएको र त्यसप्रति दृढ रहेको जनाउँदै विज्ञप्तिमा नयाँ विश्वासिलो सहयोगी मुलुकका नाताले नर्वेले संविधानलाई अन्तिम रुप दिने कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘सबै नर्वेली सहायता पारदर्शी छन् र दूतावासको वेबसाइटमार्फत ती सार्वजनिक हुने गरेका छन्, हाम्रा साझेदार दर्ता भएका र नेपालको समाजकल्याण परिषद्बाट अनुमति प्राप्त छन्’, विज्ञप्तिमा भनिएको छ ।
‘हिमाल साउथ एसिया’ नामक खबरपत्रिकाले सहायता रकम दुरुपयोग गरेको दूतावासलाई नलागेको उल्लेख गर्दै विज्ञप्तिमा ती गम्भीर आरोपको छानबिन हुने बताइएको छ ।
प्रतिक्रिया