काठमाडौ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष प्रदिपजंग पाण्डेले आइतवारबाट पदभार ग्रहण गरेका छन् । पाण्डेसँगै कार्यसमितिका ६१ सदस्यले पनि पदभार ग्रहण गरेका छन् । उनीहरूलाई अध्यक्ष सुरज बैद्यले गोपनीयताको सपथ दिलाए ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षमा प्रदिपजंग पाण्डेले भाष्करराज राजकर्णिकारलाई पराजित गरेका थिए । पाण्डेले राजकर्णिकार भन्दा १ सय ७७ मत बढी ल्याएका थिए । अध्यक्षमा पाण्डेले समग्रमा १ हजार ५५ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी राजकर्णिकारले ८ सय ७८ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार प्रतिशतका आधारमा पाण्डेको पक्षमा ५४ दशमलव ६ प्रतिशत र भाष्करको पक्षमा ४५ दशमलव ४ प्रतिशत मत परेको थियो ।
एसोसियटतर्फका ५ सय ९० मतमध्ये पाण्डेलाई २ सय ८९ मत प्राप्त भएको थियो । भाष्करले २ सय ९१ मत पाएका थिए । बस्तुगत तर्फका ८८ मतमध्ये पाण्डेलाई ५६ मत प्राप्त भएको थियो भने भाष्करलाई ३२ मत मात्रै प्राप्त भएको थियो । जिल्ला नगरतर्फका ९३ मत मध्ये पाण्डेलाई ४९ र भाष्करलाई ४२ मत प्राप्त भएको थियो ।
त्यसैगरी उपाध्यक्षमा वस्तुगततर्फ दिनेश श्रेष्ठ र जिल्ला नगरतर्फबाट किशोर प्रधान निर्वाचित भए । भाष्कर समूहबाट एसोसियटतर्फका उम्मेदवार शेखर गोल्छाले ७४ मत बढी प्राप्त गरी विजयी भए । शेखरले ३ सय १० मत ल्याए भने बिके श्रेष्ठले २ सय ३६ मत प्राप्त गरे ।
वस्तुगततर्फबाट दिनेश श्रेष्ठले ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी उदयराज पाण्डेले २८ मत प्राप्त गरे । त्यस्तै, जिल्ला नगरतर्फबाट किशोर प्रधानले ९३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी डिबी बस्नेतले ८९ मत प्राप्त गरे । उद्योगी शौरभ ज्योतीले ५० मत प्राप्त गरे । चलचित्र निर्देशक शर्माले ४९ मत पाए । शौरभ र अशोक दुबै भास्कर समुहका उम्मेदवार हुन् । यस्तै अनुपबहादुर मल्ल ६३, उमेशलाल श्रेष्ठ ६२, संजिवराज भण्डारी ६२, शकुन्तलाल हिराचन ५३, कमला श्रेष्ठ ५१, संजय गिरी ५१, संदिपकुमार अग्रवाल ४९, राजकुमार भट्टराई ४८, राजन शर्मा ४८ र शंकरप्रसाद पाण्डे ४७ मत प्राप्त गर्दै विजयी भए ।
आइतबार आयोजित एक समारोहमा अध्यक्ष पाण्डेले पदभार ग्रहण गर्दै महासंघमा पूर्व वरिष्ठ उपाध्यक्ष तथा पराजित उम्मेदवार राजकर्णिकारको पनि ठुलो योगदान रहेको बताएका थिए । अध्यक्ष पाण्डेले पराजित राजकर्णिकारलाई पनि महासंघमा उचित जिम्मेवारी दिएर सहभागी गराउने प्रतिबद्धता जनाए । समारोहमा निवर्तमान अध्यक्ष सुरज वैद्यले पनि संविधानसभामा निजि क्षेत्रका मुद्दा समावेश गराउन नयाँ नेतृत्वले भूमिका खेल्नु पर्ने तर्क गरे । महासंघमा पाण्डेको कार्यकाल तीन बर्षको हुनेछ ।
प्रतिक्रिया