क्रान्तिकारीको नेतृत्व चयनमा किचलो

काठमाडौं २६ चैत्र । काठमाडौंमा जारी एमाओवादीका निकट अनेरास्ववियु क्रान्तिकारीको १९ औं महाधिवेशनमा नेतृत्व चयनमा ब्यापक विवाद देखिएको छ । जसका कारण एक साता वित्न लाग्दासमेत नेतृत्व चयन हुन सकेको छैन । विवादका कारण निर्वाचन पनि हुन सकेको छैन । आपसी विवाद बढ्दै गएर कसलाई अध्यक्ष बनाउने भन्नेमा मातृ पार्टीभित्र पनि समस्या देखिएको छ ।
एकथरि नेताहरू पुन: हिमाल शर्मालाई नै अखिल क्रान्तिकारीको अध्यक्ष बनाउनुपर्ने बताइरहेका छन् । अर्काथरिले भने रमेश मल्ल वा जागृत रायमाझी मध्ये एकलाई अध्यक्ष बनाउनु पर्ने तर्क गरिरहेका छन् । बिहीबार एनेकपा माओवादीले नेतृत्व घोषणा गर्ने तयारी गरेको एक विद्यार्थी नेताले जानकारी गराएका छन् । ती नेताका अनुसार हिमाल शर्मालाई नै पुन: अध्यक्ष बनाउने तयारी पार्टी नेतृत्वले गरेको छ । ४५ वर्षीय शर्मा गत संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवारसमेत बनेका थिए । बुधबार साँझ नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गर्ने बताइएको थियो । तर, यसलाई एक दिन पर सारिएको विद्यार्थी नेता माधव अर्यालले जानकारी गराए । प्रतिनिधिहरूले बुधवार दिउसो समहतिमा नयाँ नेतृत्व चयनको माग गदै नारा बाजी समेत गरेका थिए ।
यस अघि मातृपार्टीले नै कार्य समिति चयन गर्दै आएकोमा यसपालीको महाधिवेशनले निर्वाचन गर्ने गरी विधान संशोधन भएको थियो । तर, यस पटक पनि सो लागु नहुने प्रष्ट भएको छ ।
नयाँ नेतृत्वका लागि रमेश विष्ट र जागृत रायमाझी मैदानमा देखिएका छन् । मल्ल र रायमाझी दुवै उपाध्यक्ष हुन् । मल्ललाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल र रायमाझीलाई नेता डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समर्थन छ । महासचिवमा नरेन्द्र न्यौपाने, अनिल शर्मा र रुद्र विष्टको दाबी छ । महाधिवेशनमा देशभरिबाट करिव १ हजार २ सय ६७ प्रतिनिधी सहभागी छन् ।

प्रतिक्रिया