उद्योग वाणिज्य महासंघको निर्वाचन

123काठमाडौं २५ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा अध्यक्ष पदका प्रत्याधि दुवैले आफू विजयी हुने दाबी गरे । अध्यक्षका प्रत्यासी प्रदीपजंग पाण्डे र भास्करराज राजकर्णिकार दुवैले निजीक्षेत्रको सशक्तीकरण नै मुख्य एजेण्डा भएको बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अर्थ संवाद कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पाण्डेले काम गर्नेलाई अड्काउने प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले बजेट आएको १० महिना वित्दा पनि पूँजीगत खर्च २२ प्रतिशत नकट्नु यसैको उदाहरण भएको दाबी गरे । ‘महासंघमा कम बोल्ने, धेरै गर्ने नेतृत्व चाहिएको छ । २२ वर्षअघिको औद्योगिक ऐनले अबका उद्योग व्यवसायीको भावना प्रतिनिधित्व गर्न सक्दैन ।’ पाण्डेले भने, ‘स्वदेशी लगानीकर्ताको वृद्धीले मात्र विदेशी लगानीकर्ता भित्रिने भएकाले स्वदेशमा लगानीमैत्री वातावरण पहिलो सर्त हो ।’
‘देशको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान दिएको निजीक्षेत्रको आगामी संविधानमा के भूमिका रहने अन्योल छ । उर्जाको अभावमा उद्योग धन्दाको अवस्था कहालीलाग्दो छ । सरकार कछुवा गतिमा अघि बढेको छ । उर्जामा राजनीति नगर्ने दलहरुको प्रतिवद्धता व्यवहारमा देखिन सकेको छैन,’ पाण्डेको कथन छ, ‘यसखाले कठिन तथा चुनौतीपूर्ण अवस्थाबाट पार पाउने व्यावसायिक एकता नै एकमात्र विकल्प हो ।’
अध्यक्ष पदका अर्का प्रत्यासी राजकर्णिकारले महासंघको चुनाव कम भड्किलो, कम खचिर्लो र कम द्धन्दात्मक होस भन्ने आफूले चाहेको बताए । वरिष्ठ उपाध्यक्ष नै महासंघको भाबी अध्यक्ष हुने अघोषित परम्परा रहेपनि त्यसो हुन नसक्नु दु:खद् भएको भन्दै उनले आफू लोकतान्त्रिक पद्धतीलाई सम्मान गरेर नै चुनावी मैदानमा उत्रिएको स्पष्ट गरे । उनले पनि निजि क्षेत्रको सशक्तीकरण आफ्नो एजेण्डा भएको बताए ।

प्रतिक्रिया