‘समिति आवश्यक छैन’

काठमाडौं २५ चैत । उच्चस्तरीय राजनैतिक समिति गठन गर्ने विषयमा दलहरुबीच छलफल चलिरहेको बेला सत्ताधारी दुई पार्टीका नेताहरुले भने त्यसको औचित्य नभएको दाबी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले उच्चस्तरीय राजनीतिक समिति गठनको औचित्य नभएको बताएका हुन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा ती दुई पार्टीका नेताहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधानसभाको अधिकार कुण्ठित गर्ने गरी संविधानसभा बाहिर कुनै समिति गठन गर्न नहुने र त्यसको पक्षमा कांग्रेस नरहेको बताए । संविधानसभाभित्र सबै पार्टीका शीर्ष नेताहरु रहेको र उनीहरु सदस्य रहने गरी राजनीतिक संवाद समितिसमेत गठन गर्ने व्यवस्था भएकोले संविधानसभाबाहिर कुनै समिति गठनको आवश्यकता नरहेको उनले तर्क गरे । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले उच्चस्तरीय राजनीतिक समिति गठन भए संविधानसभा र दलहरुबीच द्वन्द्व बढाउने दाबी गरे । ज्ञवालीले द्वन्द्व बढाउने खालको समिति संविधानसभाबाहिर गठन गर्नु आवश्यक नरहेको धारणा राखे । ज्ञावलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पीडितलाई केन्द्रमा राखेर निर्माण गर्नु पर्ने भन्दै पीडितको सहमति बेगर आममाफी दिने विषय हुन नसक्ने बताए ।
यता एनेकपा माओवादीका नेताले भने उच्चस्तरीय समिति गठन हुनु पर्नेमा जोड दिए । एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले दलहरुले पहिला नै सहमति गरिसकेकोले उच्चस्तरीय राजनीतिक समिति गठन हुनै पर्ने तर्क गरे । उनले सो समितिको संयोजक एमाओवादी अध्यक्ष पुष्प कमल दाहाललाई दिनु पर्ने पनि तर्क गरे । साथै राजनीतिक संवाद समितिको नेतृत्व डा. बाबुराम भट्टराई दिनु पर्ने बताए ।

प्रतिक्रिया