“नेपाली समाज पुँजिवादी”

2काठमाडौं २३ चैत । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपाली समाज अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती नभएको दाबी गरेका छन् । युवा किसान संघ नेपालले आइतवार काठमाडौंमा आयोजना गरेको ‘नेपाली समाजको चरित्र र नेकपा एमालेको नवौं महाधिवेशन’ विषयक अन्तरक्रियामा बोल्दै गौतमले नेपाल कहिल्यै कसैको पनि उपनिवेश नभएको भन्दै यस्तो दाबी गरेका हुन् । ‘नेपाली समाजमा आर्थिक र राजनीतिक रुपमा सामन्तवादको अवशेष छैन,’ उनले भने ‘सास्कृतिक रुपमा भने कहिंकतै सामन्तवादका अवशेष रहेका छन् ।’
गौतमले नेपाली समाज दलाल र नोकरशाही पुंजीवादको प्रभुत्वमा रहेको दाबी गरे । ‘आगामी दिनमा हामीले राष्ट्रिय पुंजीवादको रक्षा गर्दै समाजवादतर्फ जानुपर्छ,’ गौतमले भने, ‘आगामी संविधानमा पनि यही कुरालाई स्थापित गर्ने गरी राज्यले राष्ट्रिय पुजीको विकास गर्नुपर्छ ।’
नेपालमा वालिघरे प्रथासमेत अन्त्य भएको भन्दै उनले मुलुक पुंजीवादीकरण भएको तर्क गरे । ‘देशको स्थितिलाई बुझ्न नसक्नेहरुले नेपाली समाज अर्ध–औपनिवेशि र अर्ध–सामन्ती भएको तर्क गर्लान्, त्यो गलत छ ।’ उनले नेपाली समाज कहिल्यै कसैको औपनिवेश नभए पनि नेपालका कम्युनिष्टहरुले नेपाली समाजको चरित्र अर्ध–औपनिवेशिक भएको सिद्धान्त बनाएर गलत गरेको दाबी समेत गरे ।
‘नेकपा एमालको आठौं महाधिवशेनमा नेपाली समाजको परिस्थिति अर्ध–औपनिवेशिक भएको भन्यौ,’ उनले भने, ‘त्यो गलत भयो, हामी आजसम्म कहिकतै कसैको उपनिवेश भएका छैनौं ।’
चीन र भारत कुनै वेला जापान र व्रिटिस साम्राज्यबादका उपनिवेश भए पनि नेपाल सधंै सार्वभौम, अखण्ड र स्वतन्त्र मुलुक रहेको उनको तर्क थियो । ‘भारतको लोकसेवाका पुस्तकमा समेत विश्वमा एक मात्र देश नेपाल सार्वभौम, अखण्ड र स्वतन्त्र मुलुक रहेको उल्लेख छ,’ उनले भने, ‘तर हामी नेपाल अर्ध–औपनिवेश भएको भनेर सिद्धान्त बनाउछौं ।’ संयुक्त राष्ट संघमा आवद्ध देशहरुलेसमेत नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन र अखण्ड मानेको उनको भनाई थियो । उनले नेपाललाई जवरजस्त कसैको अर्ध–औपनिवेश मुलुक बनाउन खोजेको भन्दै आलोचना समेत गरे । ‘नेपाल कहिले कस्को अर्ध औपनिवेश भयो ?’ उनले प्रश्न गरे, ‘अङ्ग्रेजसँग लड्दा जितेको भू–भाग फेरि अङ्ग्रेजले जितेर लग्यो ।’ उनले १८१६ को सुगौली सन्धीमा पनि नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड मुलुक बनाउन पुर्खाहरुले योगदान गरेको बताए । ‘हामीले नेपालीहरुको गौरव गाथालाई सम्मान गर्दै र उनीहरुको योगदानको मूल्याङ्कन गर्दै अघि बढ्नु पर्छ ।’ उनले अहिलेको नेपालको थातथलो कसैको औपनिवेशन नभएकाले नेपाललाई अर्ध–औपनिवेशन भन्नुको कुनै तर्क नभएको दाबी गरे ।
नेपालका कम्युनिष्टहरुले करीब ६० वर्षदेखि अरुको नक्कल मात्र गरेको उनको आरोप थियो । ‘केही कुरा सिकुन्जेल नक्कल गर्ने हो,’ उनले भने, ‘तर हामी करीब ६० वर्षदेखि अरु मुलुकका नेताको दस्तावेजको नक्कल मात्र गरिरहेका छौं ।’ नेपाललाई विश्वका सबै मुलुकले स्वतन्त्र, सार्वभौम सत्तासम्पन र अखण्ड मानेको स्मरण गराउदंै उनले हाम्रो मुलुक अर्ध–औपनिवेशिक छ भन्ने गलत विचारलाई नै मिल्काउानु पर्ने तर्क गरे । पुर्खाहरुले समेत स्वतन्त्र नेपाल प्रदान गरेको भन्दै कुनै विचार नै नगरी अरुले जे गर्छन्, त्यसको मात्र नक्कल गरेर हामीलाई कसैले कव्जा गर्दै छन् भन्ने संस्कारको अन्त्य गर्नुपर्ने उनको सुझाव थियो । ‘हाम्रो कमजोरीको फाइदा उठाएर अरुले हामीलाई हेपेका छन्,’ उनले भने, ‘आगामी नवौं महाधिवेशनमा यी कुरालाई केन्द्रमा राखेर एमाले आफ्ना नीति–विचार र कार्यदिशालाई परिमार्जन गरेर अघि बढ्छ ।’

प्रतिक्रिया