धमाधम खोरमा

1२३ चैत,काठमाडौं । काठमाडौं प्रहरीले ‘डन’ गणेश लामालाई फेरी प्रक्राउ गरेको छ । व्यवसायीलाई धम्की दिएर चन्दा असुली गरेको आरोपमा लामालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामालाई काठमाडौं उपत्यकाभित्र गुण्डागर्दी गर्ने र साथमा हतियार लिई सर्वसाधारणलाई धम्काउने आरोपमा पक्राउ गरिएको हो । साथै विभिन्न पेशा, व्यवसाय गर्ने मानिसहरुबाट जबरजस्ती चन्दा माग गर्ने,चन्दा नदिएको खण्डमा अपहरण गर्छु भनि डर त्रास देखाउने गरेको आरोप पनि लामामाथि छ ।
उनले आफ्ना गुण्डा सहयोगीहरु परिचालन गरी विभिन्न सरकारी तथा गैर सरकारी ठेक्का पट्टामा ठेकेदारहरुलाई धम्क्याइ रकम माग गर्ने काम गरी सर्वसाधारणलाई आतंकित तुल्याउने गरेको भन्ने पिडितहरुको सुचनाको आधारमा प्रक्राउ गरीएको प्रहरीको दावी छ ।
प्रहरीले उनलाई पुरानो ट्रयाक रेकर्डका आधारमा प्रक्राउ गरेको हो । राजनीतिक आवरणमा गुण्डागर्दीमा सक्रिय लामालाई शनिवार दिउसो काठमाडांैको सिनामंगलबाट प्रक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रवक्ता डिएसपी अर्जुन चन्दले लामालाई शनिवार दिउसो २ बजे प्रक्राउ गरेको पुष्टि गरे । ‘लामाले व्यवसायीलाई धम्की दिने र हप्ता असुली गर्ने धन्दालाई निरन्तरता दिएका थिए, धेरै जनगुनासो आएपछि उनलाई फेरी प्रक्राउ गरीएको हो ।’ प्रवक्ता चन्दले सौर्यसँग भने ।
चन्दका अनुसार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका लामालाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर म्याद थप गरीसकेको छ । लामा ४ मंसिर मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लडेर पराजित भएका थिए ।
प्रहरीले उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखेको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार गृहमन्त्री हुँदा उनको पार्टीमा प्रवेश गरेका थिए । उनले गृहमन्त्री गच्छेदार हुंदा राजनीतिक संरक्षण पाएर गुण्डागर्दीलाई निरन्तरता दिएका थिए । उनको उच्च प्रहरी अधिकारीको सरुवा बढुवामा समेत संलग्नता रहेको भन्दै गच्छदारको आलोचना समेत हुदै आएको थियो । लामाले पछिल्लो समय आफै सक्रिय नभए पनि आफ्नो समुहका सदस्यहरु मार्फत हप्ता असुली र व्यवसायीलाई धम्की दिएर रकम असुली गर्ने कार्यलाई निरन्तरता दिदै आएका थिए ।
यसअघि,लामा संविधानभाको दोस्रो निर्वाचनका लागी काभ्रेबाट उम्मेदवारी दर्ता गरेको भोलिपल्ट रिहा भएका थिए । उनलाई गैरकानूनी रुपमा अकूत सम्पति आर्जन गरेको अभियोगमा थुनामा राखिएको थियो । लामा सुरुमा विशेष अदालतले माग गरेको धरौटी वुझाउन नसक्दा थुनामा परेका थिए । विशेष अदालतले उनलाई ३ करोड धरौटी माग गरेको थियो । लामाले धरौटी वुुझाएपछि भने उनि गत साउनमा रिहा भएका थिए ।

प्रतिक्रिया