फर्सी र पाउरोटीभित्र डलर

काठमाडौं, २२ चैत । प्रहरीले काठमाण्डौको कोटेश्वरबाट १५ चिनिया नागरिकलाई ठुलो परिमाणमा विदेशी मुद्रा सहित पक्राउ गरेको छ । ४ लाख अवैध अमेरीकी डलरसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्दा शनिवार उनिहरुको साथमा अवैध विदेशी मुद्रा भेटिएको हो ।
कोटेश्वरबाट पक्राउ परेका चिनिया नागरिकबाट तीन लाख ९७ हजार १ सय २८ डलर, १ लाख १६ हजार ८ सय ४० युरो, १९ हजार २८० पाउण्ड स्ट्रलीङ, ३५ सय ७० क्यानेडियन डलर, १४ हजार १०५ अष्ट्रेलियन डलर, ७१ लाख ८२ हजार जापानी यान पनि बरामद भएको छ । त्यसैगरी ७८ हजार ३५० चाइनिज युयान, १७ हजार सिंगापुर डलर, १० हजार हङकङ डलर र ६ हजार फ्रान्सको मुद्रा समेत बरामद भएको छ ।
काठमाण्डौ प्रहरीका प्रवक्ता डिएसपी अर्जुन चन्दका अनुसार पक्राउ परिएका चिनिया नागरिकमध्ये ११ महिला र ३ पुरुष छन् । काडमाडौं प्रहरी प्रवक्ता डिएसपी चन्दले सौर्यसंग भने ‘अवैध डलरसहित चिनिया नागरिक पक्राउ परेका छन्, उनीहरुको अनुसन्धान भइरहेको छ, छिट्टै हामी राजस्व अनुसन्धान विभागलाई वुझाउने तयारीमा छ ।’
उनिहरुले उक्त अवैध रकम बा ११ च ६१२ नम्बरको बलेरो गाडी, वा ७ च ३४१९ को महेन्द्रा जायलो र वा ८ च ६४३४ नम्बरको टाटा सुमो गाडीबाट चिनको सीमाना पर्ने खासातर्फ लैजादै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार शनिवार पक्राउ परेका चिनीया नागरीकहरु लामो समयदेखी चिनबाट अवैध सुन तस्करी गर्ने समुहका सदस्य रहेको खुल्न आएको छ ।
उनीहरुले लाखौ विदेशी मुद्रा पाउरोटी र फर्सिभित्र लुकाएका थिए । महानगरीय प्रहरी परिसर काठमाण्डौको विशेष टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरले उनिहरुलाई शनिवार कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अवैध विदेशी मुद्रा तस्करीको यो नया शैली पत्ता लागेको हो । उनीहरुले विदेशी मुद्रा लुकाउन पाउरोटीका साथै थर्मस, कस्मेटिक सामाग्री र ब्याग समेत प्रयोग गरेका थिए । प्रहरीले प्रक्राउ परेका चिनियाहरुको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया