यस्तो छ संविधान बनाउने कार्यतालिका

talikaकाठमाडौं २० चैत्र । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको ४ महिनापछि संविधानसभा सचिवालयले संविधान निर्माणको कार्यतालिका तयार पारेको छ । संविधानसभा सचिवालयले आगामी कात्तिकभित्र नयाँ संविधानको मस्यौदा बनाउने गरी संविधान निर्माणको कार्यतालिका तयार पारेका हो । कार्यतालिकाअनुसर आगामी १५ बैशाखभित्र विषयगत समितिका सभापतिको निर्वाचन गर्ने उल्लेख छ ।
कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा छलफलका लागि पेस गरिएको कार्यतालिकामा जेठ मसान्तभित्र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाका समितिहरूमा सहमति भएका र विवादित विषयहरू निक्र्यौल गर्ने उल्लेख छ । त्यसरी निक्र्यौल गरेको विषयलाई संविधानसभामा पेश गर्ने र सहमति भएका विषयलाई मस्यौदा समितिमा र विवादित विषयलाई संवैधानिक–राजनीतिक सम्वाद समितिमा पठाउने उल्लेख छ ।
संवैधानिक–राजनीतिक सम्वाद समितिले नयाँ संविधानका विवादित विषयमा संविधानसभामा रहेका दलहरूसँग छलफल गर्ने र बाहिर रहेका दलहरूसँग सहमति गर्ने समय तालिका भने भदौ मसान्तसम्मका लागि तोकिएको छ । दलहरूबीच सहमति गर्ने, छलफलमा उठेका नयाँ विषयमा पनि सहमति गर्ने र सहमति हुन नसके संविधानसभामा निर्णयार्थ पेश गर्ने समय असोजसम्म तोकिएको संविधानसभा सचिवालयले तयार पारेको कार्यतालिकामा उल्लेख छ ।
त्यसैगरी कात्तिकसम्ममा संविधानसभामा सहमति भएका विषयलाई समेटेर मस्यौदा लेखिनेछ र राजपत्रमा प्रकाशित गरी जनताको सुझाव लिने कार्ययोजना बनाइनेछ । संविधानको मस्यौदामाथि कम्तिमा प्रत्येक जिल्लामा सार्वजनिक सुनुवाइ गर्ने कार्यसूची छ ।
जनताको सुझाव बमोजिम संविधानको पहिलो मस्यौदालाई संशोधन गरी पुस मसान्तसम्ममा संविधानसभामा संविधानको विधेयक पेश गरिनेछ । यो समयमै दफावार छलफल गरी संविधानको सबै धारा, प्रस्तावना र नामसहित सम्पूर्ण भाग पारित गरिनेछ ।
२०७१ साल माघमा पारित संविधानको प्रमाणिकरणप्रति तयार गरी सभासदले हस्ताक्षर गर्ने र अध्यक्षले विधेयक प्रमाणित गर्ने कार्यतालिका छ । प्रस्तावित कार्यतालिकामा संविधानको प्रतिमा राष्ट्रपतिले हस्ताक्षर गरी लागू भएको घोषणा गर्ने दिन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया