काठमाडौं, १८ चैत । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आगामी २० र २१ वैशाखसम्म काठमाडौंमा हुने भएको छ । महासंघको सिन्धुपाल्चोकमा भएको दुईदिने ११ औं बैठकले उक्त निर्णय गरेको हो । महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार र सरोकारवाला संघ–संस्थाका प्रमुख रहने गरी मूल आयोजक समिति गठन तथा कोषाध्यक्ष शीतल साहको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी, बैठकले निर्वाचन, स्वागत, आवास, भोजन, प्रचार, स्मारिका र आर्थिक समितिसमेत गठन गरेको छ । सो बैठकले नेपालवाणी नेटवर्कमा कार्यरत श्रमजीवी पत्रकारले गरेको आन्दोलनबारे बैठकको गम्भीर ध्यानाकर्षण भएको र श्रमजीवी पत्रकार ऐन तुरुन्त लागू गर्न र श्रमजीवी ऐनअन्तर्गत पाउने सबै सेवा सुविधा पत्रकारलाई प्रदान गर्न नेटवर्कको व्यवस्थापनलाई निर्देशनसमेत गरेको छ । साथै, प्रशारण सेवा नै बन्द गर्ने कार्य अविलम्ब फिर्ता लिन आन्दोलनरत पत्रकारलाई महासंघले अनुरोध गरेको छ ।
त्यसैगरी, बैठकले वरिष्ठ पत्रकार चुनबहादुर गुरुङ मिर्गौलाबाट पीडित भई उपचारार्थ भारतको दिल्लीमा रहेकाले उनको उपचारका लागि महासंघले अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पत्रकार इन्द्र राउत र दिलबहादुर घर्तीको उपचारका लागि महासंघले सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विधान संशोधनबारे पोखरा साधारणसभामा पेस गरिएको महासंघको विधान संशोधनसम्बन्धी प्रस्ताव नयाँ जिल्ला कार्यसमिति र सभासद्को जानकारीका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया