युनिटीका सञ्चालकलाई जेल र जरिवाना

काठमाडौं, १७ चैत्र । ललितपुर जिल्ला अदालतले युनिटी इन्टरनेशनलका अध्यक्षहित १२ संचालकलाई दोषि ठहर गर्दै नगद जरिवाना र कैद फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले युनिटीका अध्यक्ष काशी गुरुङसहित १२ लाई जेल सजाय तोकेको हो । तर, अन्य तीनलाई भने सफाई दिएको छ । गूरुङसहित संचालकहरुलाई ३–३ बर्ष जेल सजाय तोक्नुको साथै जनही १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ र ५० पैसा जरिवानासमेत तोकेको छ ।
जेल सजाय पाउनेहरुमा युनिटीका सञ्चालकहरु विष्ण्ुा क्षेत्री, नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्र विश्वकर्मा, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर चन्दन, विश्वनाथ गौतम, गोविन्द ज्ञवाली र घनश्याम बस्ताकोटी छन् । ललितपुर जिल्ला अदालतले सोमबार गरेको फैसलामा ठगिएका व्यक्तिहरुलाई १२ करोड ७५ लाख १५ हजार ३ सय २७ रुपैयाँ सञ्चालकले दिनुपर्ने आदेश छ ।
यसैबीच अदालतले सञ्चालकमध्ये कालु गुरुङ, जनक बराल र कृष्ण पाठकलाई सफाइ दिएको छ । सरकारले युनिटी इन्टरनेशनल बन्द गरेर संचालकहरुलाई यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरुलाई नेटवर्किङ विजनेशका नाममा करौडौं ठगी गरेको आरोप थियो । युनिटिका प्रवन्ध निर्देशक विष्णु क्षेत्री भने हालसम्म फरार छन् ।

प्रतिक्रिया