उद्योग वाणिज्य महासंघमा निर्वाचनको सरगर्मी

काठमाडौं १६ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को ४८ औं साधारणसभाका लागि भाष्करराज राजकर्णिकार समूहले औपचारिक रुपमा प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ । आसन्न साधारणसभा तथा निर्वाचनका लागि महासंघको वस्तुगत संघ अन्र्तगतका ९१ वटा संघको प्रतिनिधिमुलक उपाध्यक्ष र ९ सदस्यसहितको सामुहिक उम्मेदवारी घोषणा गरेको जानकारी  सदस्य पदका उम्मेदवार राजकुमार भट्टराईले दिए ।
आइतबारको घोषणासभामा वर्तमान वरिष्ठ उपाध्यक्ष राजकर्णिकारको समूहबाट उपाध्यक्षमा उदयराज पाण्डे उम्मेदवार बनेका छन् । पाण्डे गार्मेट एशोसीयसन अफ नेपालका अध्यक्षसमेत हुन् । त्यसैगरी सदस्यहरुमा राजकुमार भट्टराई (अध्यक्ष, एड्भरटाइजिङ एशोसीयसन अफ नेपाल), संदिप कुमार अग्रवाल (अध्यक्ष, नेपाल भेजिटेवल घी एण्ड आइल म्यानुफ्याक्चरर्स एशोसीयसन), सौरभ ज्योती (निवर्तमान अध्यक्ष, नेपाल अटोमोबाईल डिलर्स एशोसीयसन), शंकरप्रसाद पाण्डे (अध्यक्ष, सिल्क एशोसीयसन अफ नेपाल), शिव प्रसाद घिमिरे (अध्यक्ष, एल. पि. ग्यास उद्योग एशोसीयसन) रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा अशोक शर्मा (अध्यक्ष, नेपाल फिल्म प्रोड्यूसर्स एशोसीयसन), विकासरत्न धाख्वा (निवर्तमान अध्यक्ष, ह्यान्डिक्राफ्ट एशोसीयसन अफ नेपाल), गोविन्दप्रसाद घिमिरे –(अध्यक्ष, नेपाल हर्वस् एण्ड हर्वल प्रोडक्टस् एशोसीयसन),  इश्वरी शर्मा (निवर्तमान अध्यक्ष, नेपाल ह्याचरी इन्डट्रिज प्रोडक्टस् एशोसीयसन) ले समूहगत रुपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको जानकारी भट्टराईले दिए ।
घोषणासभामा अध्यक्षका प्रत्यासी राजकर्णिकारले वस्तुगत संघका हरेक सदस्य सशक्त उम्मेदवार भएको दाबी समेत गरेका थिए । ‘नयाँ पुस्ता नेतृत्वमा, निजी क्षेत्र समृद्धि पथमा’ भन्ने मूल नारासहति आफू चुनावी मैदानमा आएको पनि राजकर्णिकारले घोषणासभामा जानकारी दिए ।
त्यसैगरी घोषणासभामा आफ्नो समूहका सबै प्रत्यासीलाई विजय गराई महासंघको आगामी कार्यकाललाई उपलव्धीमुलक बनाउन सबै उम्मेदवारहरुले आह्वानसमेत गरे । घोषणासभामा महासंघका वस्तुगत संघ अन्र्तगतका अधिकांश सदस्य तथा पदाधिकारीहरुको उपस्थिति थियो । वर्तमान अध्यक्ष सुरज वैद्य, महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान, आनन्दराज मूल्मी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेत, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका उद्यमी–व्यवसायीहरुको पनि घोषणासभामा उपस्थिति थियो । अर्का उपाध्यक्ष प्रदिपजंग पाण्डेले छुट्टै समूह बनाएर चुनाव लड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया