दुई माओवादीलाई एकताको चटारो

काठमाडौं, १५ चैत । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी अझै पनि एमाओवादीसँग एकता गरेर अघि बढ्न चाहेको देखिएको छ । पार्टी विभाजन भएसँगै पार्टीले पारित गरेको कार्यदिशामा दत्तचित्त भएर लाग्नुभन्दा पनि माओवादीका शीर्ष नेताहरू दुई पार्टी एकताका सीमाबारे सार्वजनिक रुपमा अभिव्यक्ति दोहोर्‍याउँदै आएका छन् ।
२०६९ असार २–४ मा बसेको बौद्ध भेला, पुसमा प्रज्ञा भवनमा सम्पन्न पार्टीको सातौं महाधिवेशन तथा पोखरा केन्द्रीय समितिले जनविद्रोहको स्पष्ट लाइन देखाए पनि माओवादी अहिलेसम्म त्यो दिशामा प्रवेश गर्नै सकेको छैन ।
त्यसको अलवा सार्वजनिक कार्यक्रम तथा आन्तरिक प्रशिक्षणहरूमा माओवादीका शीर्ष नेताहरूले एमाओवादी सच्चिए पार्टी एकता हुने अभिव्यक्तिलाई निरन्तरता दिनुले एमाओबादीसँगको एकता चाहनालाई प्रष्ट पारेको छ ।
शीर्ष नेताहरूकै यस्ता अभिव्यक्तिले नेकपा माओवादी एकीकृत माओवादीसँग एकता गरेर नै अघि बढ्न चाहेको स्पष्ट भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । नेकपा माओवादी अध्यक्ष मोहन वैद्यले शनिबार मात्रै सुर्खेतमा पुगेर एमाओवादी अध्यक्ष पुष्ककमल दाहाल तथा वरिष्ठ नेता बाबुराम भट्टराई जनवादी क्रान्ति सफल पार्ने दिशामा सच्चिएर आए पार्टी एकता हुने अभिव्यक्ति दोहोर्‍याए । पार्टीको सुर्खेत जिल्ला दोस्रो सम्मेलनको विरेन्द्रनगरमा उद्घाटन गर्दै उनले दुई पार्टी एकता हुन एमाओवादी सच्चिनुपर्नेमा जोड दिएका थिए ।
यता, तनहुँमा माओवादी महासचिव राम बहादुर थापाले पनि एनेकपा माओवादी साच्चिनै पार्टी एकता चाहने हो भने नवसंशोधनवादको धार त्यागेर अग्रमनको धारमा आउनुपर्ने भन्दै एकतालाई जोड दिए ।
आफ्नो स्पष्ट लाइन, स्पष्ट कार्यदिशा हुँदाहुँदै पनि त्यता खासै चासो नदिई पार्टी एकतामा दुई पार्टीबीचको सीमाहरूका विषयमा सार्वजनिक रुपमै अभिव्यक्तिहरू आउनुले नेकपा माओवादी एमाओवादीसँगै अघि बढ्ने चाहना प्रस्ट भएको हो ।
संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रमभन्दा माओवादीका शीर्ष नेताहरूको ध्यान अलिक बढी पार्टी एकतामै गएको देखिएको वाम विश्लेषक हरि रोका बताउँछन् । ‘फुटभन्दा पनि जुटले दुवै माओवादीलाई फाइदा गर्छजस्तो लाग्छ,’ विश्लेषक रोका भन्छन्, ‘दुवैबीच गम्भीर रुपमा हार्दिकताका साथ छलफल गर्दै जाने हो भने दुई पार्टी एकता खासै टाढाको विषय पनि हो जस्तो लाग्दैन ।’
एमाओवादी सल्लाहकार नगेन्द्रजंग पिटर दुई माओवादीबीचको एकता आवश्यकताले पैदा गरेको बताउँछन् । ‘आवेग, प्रभाव या अरु कुनै कारणले पार्टी विभाजन भयो’, पिटर भन्छन् । उनी पार्टी विभाजनपछि कसैलाई पनि फाइदा नभएको र फुटको पुष्टि पनि नभएको बताउँछन् ।
पार्टी एकताका लागि सीमा तथा समस्या, दुवैले पक्षले बुझेको हुनसक्ने जनाउने उनी पार्टी एकताका लागि नीति कार्यशैली, कार्यदिशा तथा फुटको आधार किन भएलगायत विषयमा गम्भीर छलफल गर्न आवश्यक रहेको ठान्छन् ।
पछिल्लो पटक नेकपा–माओवादीभित्र फुटको औचित्य पुष्टि हुन नसकेको भन्दै पार्टी एकताका लागि दबाब बढ्न थालेको छ । यता, एमाओवादीको राष्ट्रिय सांगठनिक महाधिवेशन नजिकिदैं गर्दा माओवादीसँग पार्टी एकता गरेर जानुपर्ने आवाज पनि तीब्र रुपमा बढेर गएको छ । दुई माओवादी भावनात्मक रुपमा पछिल्लो पटक नजिक नजिक हुँदै गए पनि कार्यदिशामा भने अलग अलग छन् ।

प्रतिक्रिया