काठमाडौं, १५ चैत । मानवअधिकार उल्लंघनको गम्भिर आरोप लागेका नेपाल प्रहरीका पूर्वएसएसपी डा. चुँडा बहादुर श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजिविन आयोग गठनका लागि सुझाव दिन गठित कार्यदलमा सदस्य नियुक्त गरेको खुलासा भएको छ । श्रेष्ठलाई नेपाली कांग्रेसको सिफारिसमा सदस्यमा नियुक्त गरिएको खुलेको हो । नेपाल प्रहरीमा पहिलो विद्यावारिधी गर्ने अधिकृतका रुपमा चिनिएका श्रेष्ठ प्रमुख राजनीतिक दलको बैठकले गतसाता कार्यदलमा नियुक्त गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १० दिनभित्र प्रतिवेदन तयार गर्ने जिम्मा दिइएको कार्यदलमा सदस्यका रुपमा नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रहरीका तत्कालिन एसएसपी चुँडा बहादुर श्रेष्ठलाई बि.स २०६० सालको २१ असोजमा जनकपुर नगरपालीकाबाट ५ जनालाई प्रक्राउ गरी वेपत्ता पारेको आरोप छ ।
उनलाई धनुषामा पाँच जना निर्दोष नागरीकलाई वेपत्ता बनाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कार्वाहीको लागि सिफारिस समेत गरेको छ । श्रेष्ठलाई सदस्यमा नियुक्त गरेपछि राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन सरकार र शान्ति मन्त्रालयलाई सचेत गराएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार श्रेष्ठलाई कार्यदलमा राखेकोमा आपत्ती जनाएपछि श्रेष्ठले शनिबार नै राजिनामा बुझाएका थिए । उनले कार्यदलका संयोजक तथा शान्ति मन्त्रालयका सह–सचिव सादुराम सापकोटामार्फत मन्त्रालयलाई राजिनामा बुझाएको स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले कार्वाहीको लागि सिफारिस गरेका व्यक्तिलाई वेपत्ता खोजिविन आयोग गठनका लागि सुझाव दिन गठित कार्यदलमा नराख्न भन्दै विरोध गरेको थियो । धनुषामा पाँच निर्दोष बालवालिकाको हत्या हुँदा श्रेष्ठ जनकपुरका प्रहरी प्रमुख थिए भने पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना धनुषाका प्रहरी प्रमुख थिए । कानुन व्यवसायी सुनिलरन्जन सिंहले रानालाई प्रहरी महानिरीक्षक बनाउन बढुवा नगर्न भन्दै सर्वोच्चमा रिटसमेत दायर गरेका थिए । स्रोतकाअनुसार श्रेष्ठले आफ्नो नाममा विरोध भएकाले राजिनामा दिएको आफू निकटलाई बताएका छन् ।
प्रतिक्रिया