काठमाडौं, १५ चैत । गतबिहीबार गम्भिर दुर्घटनामा परेकी लोक गायिका मञ्जु महतको २८ वर्षको उमेरमा शनिबार निधन भएको छ । गीत रेकर्डिङका सिलसिलामा मालश्री स्टुडियोमा आउँदै गर्दा उनी सवार स्कुटर गल्कोपाखामा दुर्घटनामा परेको थियो । गायिका महत सवार स्कुटरलाई दुईवटा माइक्रो बसले चेपेपछि गम्भिर घाइते भएकी थिइन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बीचमा थिचेका थिए ।
सवारी दुर्घटनामा गम्भीर घाइते बनेपछि उपचारका लागि टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो । अस्पतालले गायिका महतलाई शनिबार चार बजेतिर मृत घोषणा गरेको थियो ।
दुर्घटना भए लगत्तत्तै गायिका महतलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । त्यँहा उपचार हुन नसक्ने बताइएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसक्ने जनाउदै चिकित्सकहरूले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए । गायिका महतको दुर्घटनाबाट देब्रे खुट्टा, दुबै मृगौंला, टाउको र छात्तिलगायत प्राय: सबै भागमा गम्भीर चोट लागेको थियो ।
को हुन् मञ्जु ?
लोक गायिका मञ्जु महत कास्की जिल्ला भरतपोखरी गाविसमा जन्मिएकी हुन् । गायिका मञ्जुले इटहरीमा बिहे गरेकी हुन् । उनको कोखबाट ६ वर्षीया एक छोरी र डेढ वर्षका छोरा रहेका छन् । एक छोरी भएपछि उनको पहिलो विवाह टुटेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका उपाध्यक्षसमेत रहेकी लोकगायिका महतले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाडौंमा आफ्नो गायन यात्रालाई अगाडि बढाइन् । गाउने क्रममा महत काठमाडौं दोहोरी साँझ, गामबेशी दोहोरी साँझ, धरहरा दोहोरी साँझ लगायतमा आवद्ध रहिन् ।
लोक संगीतको क्षेत्रमा ‘सोह्र दुना आठ’ बोलको गीत गाएपछि उनको सांगीतिक करियर राम्रो हुँदै गइरहेको थियो । पछिल्लो समय उनी विदेश तथा स्वदेशका कन्सर्ट, सांस्कृतिक कार्यक्रम तथा महोत्सवहरूमा व्यस्त थिइन् । गायिका मञ्जुको ‘नभन है कसैलाई भन्न हुँदैन’, ‘हिरामोती झैं’ लगायत गरि पाँच वटा एल्बमहरू बजारमा आइसकेका छन् ।
प्रतिक्रिया