प्रचण्ड निवासबाट आन्दोलनको चेतावनी

काठमाडौं, १४ चैत । एमाओवादीले ‘जनयद्ध’कालीन समयको जग्गा जमीनको समस्या तत्काल सम्बोधन नगरिए सदन र सडक दुबै ठाउँमा संघर्ष गर्ने निर्णय गरेको छ । प्रचण्डनिवास लाजिम्पाटमा शुक्रबार बसेको एमाओवादीको पदाधिकारी एवं केन्द्रीय कार्यालयको बैठकले रुकुम, रोल्पा, सल्यान र जाजरकोट लगायतका जिल्लामा भएको जग्गासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको हो ।
‘जनयुद्ध’कालमा स्थानीय सत्तामार्फत् ती जिल्लामा जग्गासम्बन्धी किनवेचको कारोबार भएको र त्यसलाई वैधानिकता दिनेबारे यस अघिको सरकारले कार्यदल बनाई त्यसले प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको भन्दै एमाओवादीले सरकारको ध्यानाकर्षण गराएको बताएको छ ।
यसबारे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको एमाओवादी नेतृत्वको निचोड छ । शुक्रबार बसेको कार्यालयको बैठकले तत्काल सरकारले यो समस्या समाधान नगरे सदन र सडकमा कडा कदम चाल्ने निर्णय गरेको छ । ‘जनयद्ध’कालमा माओवादीले आफ्नो आधार क्षेत्रमा जग्गा किनबेच गर्दा ‘जनसत्ता’मार्फत् रजिष्ट्रेसन गराएको थियो । शान्ति सम्झौतापछि उक्त लिखतलाई सरकारले मान्यता नदिएपछि ती जिल्लाहरुमा जग्गाको स्वामित्वसम्बन्धी विवाद जटिल बनेको छ ।

प्रतिक्रिया