काठमाडौं १३ चैत्र । नेपाली समाजलाई हेर्ने दृष्टिकोणमा कम्युनिष्ट नेताहरुवीच मतभिन्नता देखिएको छ । कम्युनिष्ट नेताहरुले नेपाली समाजका बारेमा आ –आफनै शैलीमा ब्याख्या र विश्लेषण गर्ने बानी नेपाली समाजमा नौलो होइन । एमालेको नवौ महाधिवेशनलाई केन्द्रित गरेर बिहीवार राजधानीमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘आजको नेपाली समाज : अवको कम्युनिष्ट आन्दोलन’ विषयक अन्तरक्रियामा उपस्थित कम्युनिष्ट नेताहरुले नेपाली समाजबारे भिन्नभिन्न धारणा प्रस्तुत गरे ।
कार्यक्रमा वोल्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान नेपाली समाज व्यापारिक पुँजीवादी भएको तर्क गरे । ‘आजको नेपाली समाज औधोगिक होइन व्यापारिक पुँजीवाद हो,’ उनले भने, ‘अहिले गाउँ–गाउँसम्म पनि व्यापारिक पुँजीवाद नै छ ।’ नेपालमा करीब १५ सय वर्ष पहिला उत्थान भएको सामन्तवाद विघटन भएको भन्दै खनालले ०४६ सालको परिवर्तनछि नेपालमा पुँजीवादी समाजको विकास भएको दावी गरे । उनले ०६२–०६३ को आन्दोलन पुँजीवादी जनक्रान्ति भएको समेत तर्क गरे । ‘०६२–०६३ मा पुँजीपति र श्रमजीवी मिलेर पुँजीवादी जनक्रान्ति गरे,’ उनले भने, ‘हाम्रो पुँजीवादी समाज अहिले विस्तारै समाजवादतिर विकास हुँदै गएको छ । नेपाली समाजमा श्रमिक र पुँजीपति वर्गवीच प्रधान अन्तरविरोध रहेको खनालको विश्लेषण थियो । दक्षिण एसिया मात्र नभएर विश्वमै पुँजीवादको व्यापक विस्तार भएको तर्क गरेका अध्यक्ष खनालले अव आर्थिक क्रान्तिलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताए । नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भएकाले नेपाललाई अर्ध–औपनिवेशिक भन्नु गलत हुने उनको धारणा थियो ।
सबै कम्युनिष्टहरु कार्यनीति, विचार र दृष्टिकोणमा स्पष्ट र एकाकार भएर अघि बढ्ने हो भने समाजवादमा पुगिने उनले जीकिर गरे । एमालेको आगामी नवौं महाधिवेशन त्यसतर्फ केन्द्रित हुने पनि उनको भनाई थियो । ‘यसैको जगमा उभिएर एमालेले विचार र सिद्धान्तनिष्ठ पार्टी निर्माण गर्ने छ,’ उनले भने ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समाजवाद उन्मुुख र सामन्तवादको अन्त्य भएको सङ्क्रमणकालिन अवस्थामा नेपाली समाज रहेको धारणा राखे । पुँजीवादको व्यापक विस्तार गर्नु पर्ने अवस्थामा रहेको उनको तर्क थियो । नेपालमा कम्युनिष्ट पार्टीको हाराहारीमा कुनै पनि शक्ति नरहेको भन्दै त्यसलाई मजवुत बनाउँन जडशुत्रवाद र विसर्जनवादका विरुद्ध लड्नु पर्ने तर्क गरे । नेपाली समाजमा सामन्तवादका सवै अवशेषको अन्त्य नभएको उनको तर्क थियो ।
कम्युनिष्ट पार्टीको फरक–फरक चुल्होचौको भएकाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन मुस्किल भएको उनले बताए । ‘नेपालका सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी बस्ने हो र नेपाली समाजको पछौटेपनालाई अन्त्य गर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई अघि बढाउान सहज हुन्छ ।’
नेपाल अध्ययन केन्द्रको तर्फबाट बोलेका एमाले नेता घनश्याम भुसालले नेपाली समाजको स्वरुप दलाल पुँजीवादी भएको तर्क गरे । ‘नेपाली समाजको स्वरुप उद्यमशील पुँजीवादी होइन, दलाल पुँजीवादी हो,’ उनले भने, ‘हामीले हाम्रो समाज चिन्ह सकेनौं, हाम्रो समाज पुँजीवादी भएको छ ।’ नेपाली समाजका आधारभुत मुद्दामा पार्टी बेखबर रहेको उनको धारणा थियो । उनले विचारलाई रुपान्तरण गर्न नसकेको र सामाजका आधारभुत मुद्दा र सामाजिक विकास कहाँ पुग्यो भन्ने कुरामै पार्टी बेखबर रहेको तर्क गरे ।
नेपाली समाज सामन्तवादवाट बाहिर निस्केको तर्क गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकेको अवस्थामा करीब ३५ वर्षपछि नेपाल समाजवाद तर्फ उन्मुख हुन सक्ने उनको तर्क थियो । आफ्नो उत्पादन शक्ति बढाउन नसके छिमेकीको विकासको बाढीले बगाउने उनको विश्लेषण थियो । एमाले चुनावदेखि चुनावसम्म र एमाओवादी हतियारदेखि हतियारसम्म मात्र केन्द्रित भएकाले नेपालको कम्युनिष्ट आन्दोलन सुस्ताएको पनि उनले जीकिर गरे । जनताको बहुदलीय जनवाद लेखन र बोलीमा मात्र सीमित भएकाले त्यसलाई जनताले आभाष हुने गरी लागु गर्न सक्नु पर्ने पनि उनले तर्क गरे । यदी त्यस्तो गर्न नसकिए एमालेको भविष्य राम्रो नभएको उनले चेतावनी पनि दिए । अध्यक्ष खनालकै जस्तो भुसालले पनि नेपाल अर्ध–औपनिवेशको अवस्थामा नरहेको तर्क गरे । पार्टीको नीति र सङ्गठन उत्पादनसँग जोडिनु पर्ने उनको भनाई थियो । नेता भुसालले समाजको चरित्र र अबको बाटो के हुने भन्नेमा अवधारणा पेश गर्दै आगामी महाधिवेशनलाई सैद्धान्तिक रुपमा स्पष्ट बाटोमा लैजानुपर्ने बताए ।’ आवेग र नारा मात्र होइन अब विचार सिद्धान्तका हिसाबले हामीले आफूलाई संगठित पुनगठिर्त गर्न सकेनौ भने आगामी दिन राम्रा हुने छैनन्’ उनले भने, ‘नवौ महाधिवेशनले यो अवसरलाई चुकाउनु हुँदैन ।’
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेपाली समाज पुाजीवादी प्रजातन्त्रको अवस्थामा रहेका धारणा राखे । तर नेपाली समाजको लक्ष्य समाजवाद नै भएको उनको तर्क थियो । एमाओवादी नेता राम कार्कीले माक्र्सवादी दर्शन पूर्ण नभएको धारणा राखे । राजनीतिको क्षेत्रमा माक्र्सवादी दर्शन धेरै क्षेत्रमा चुकेको उनको भनाई थियो । उनले अन्तरपार्टी प्रजातन्त्र के–हो भन्ने कुरामा स्पष्ट नभई अघि बढ्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनले गति नलिने दाबी गरे । नेकपा एमालेको आसन्न नवौ महाधिवेशनलाई मध्यनजर राख्दै सो कार्यक्रम आयोजना गरिएको हो । एमाले नेतृ राम कुमारी झाँक्रीले संचालन गरेको सो कार्यक्रममा उनले पनि नेपाली समाजका बारेमा आफनो धारणा प्रस्तुत गरेकी थिइन् ।
प्रतिक्रिया