एमाओवादी अध्यक्ष दाहाललाई पुत्रीशोक

caption copyकाठमाडौं, १३ चैत्र । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसीको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित केसीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
केसीको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टि अघि पशुपति परिसरमा गरिएको शोकसभामा विभिन्न दलका नेता, सरकारका मन्त्रीहरु तथा सयौं पार्टी कार्यकर्ता तथा शुभचिन्तक त्यहाँ पुगेका थिए । अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाएर छोरीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । केसीको हिन्दू संस्कार अनुसार अन्त्यष्टि गरिएको थियो । अन्तिम दर्शनका लागि आर्यघाटको छेउमा राखिएकी ज्ञानुलाई हिन्दु संस्कार अनुसार उनका श्रीमान अर्जुन केसीले दागबत्ती दिएका थिए । त्यसअघि अध्यक्ष दाहाल, उनकी पत्नी सीता पौडेल, ज्ञानुका भाइ प्रकाश दाहाल लगायतले ज्ञानुको अश्रुपूर्ण अन्तिम बिदाइ गरेका थिए ।
केसीलाई अन्तिम श्रद्दाञ्जली दिन एमाओवादीका नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्ण बहादुर महरा, हिसिला यमी, देवेन्द्र पौडेल लगायतका पार्टीका शीर्ष नेता आर्यघाट पुगेका थिए ।
श्रद्धाञ्जली दिन सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका सचिव विष्णु पौडेल, कांग्रेस नेता शेखर कोइराला र पूर्व प्रहरी प्रमुख कुवेर सिंह रानालगायत पनि आर्यघाट पुगेका थिए ।
केसी स्तन क्यान्सरबाट १० वर्ष भन्दा अघिदेखि पीडित रहदै आएकी थिइन् । लामो समय उनलाइ भारतको मुम्बई र दिल्लीमा समेत उपचार गरिएको थियो । उनको थप उपचार अमेरिकामा समेत गराइएको थियो तर पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि काठमाडौं ल्याइएको थियो । अध्यक्ष दाहालका चार सन्तानमध्ये ज्ञानु जेठी हुन् । स्तन क्यान्सरबाट पीडित ४० वर्षीया केसीका पति र दुई छोरी छन् । पछिल्ला दिनमा उनलाई रोगले निक्कै च्यापेपछि अध्यक्ष दाहाल दिनहु जसो छोरीको हेरचाहका लागि अस्पताल जाने गर्दथे । उनको परिवारमा यसअघि आमा भवानी पाठकको पनि क्यान्सरबाटै मृत्यु भएको थियो ।

प्रतिक्रिया