काठमाडौं, १३ चैत । दलहरु बिच २६ सभासद मनोनयन गर्ने विषयमा भागबण्डा मिलेपछि नाम छान्न उनीहरु आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसले नौ, एमालेले सात, एमाओवादीले पाँच र बाँकी पाँचजना साझा सभासदका रुपमा मनोनयन गर्न दलहरु सहमत भएका हुन् ।
प्रमुख तीन दलले दलिय हैसियतअनुसार सभासद संख्या भागबण्डा गरिसकेकोले अब पार्टीले आफ्नो कोटामा नाम सिफारिस गर्नुपर्नेछ । नेपाली कांग्रेसले नौ जनाको नाम टुङगो लगाउन शीर्ष तहमा छलफल शुरु गरेको छ । पदाधिकारी र केही नेताहरुसँग सभापति सुशील कोइरालाले छलफल गर्दैछन् । शुक्रबार बिहान छलफलको तयारी भइरहेको कांग्रेसका एक नेताले बताए । एमालेले पार्टी भित्र र बाहिरका मिलाएर सभासद चयन गर्ने बताएको छ । नेता, विज्ञ, व्यवसायीक क्षेत्रबाट ल्याउने गरि छलफल भइरहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘केही पार्टीका नेताहरु नै पर्नेछन् तर २६ जनामा समावेसीता विज्ञता सबै मिलाएर छानिनेछ’ उनले भने ।
एकीकृत माओवादीले यसअघिको संविधानसभामा रहेका खिमलाल देवकोटासहित पाटी निकट मानिएका तर स्वतन्त्र देखिने नामहरु छान्ने तयारी गरेको बताइएको छ । अन्य साना दललाई समेट्नुपर्ने खण्डमा थप छलफल गरेर एक एक जना घटाउने गरि सहमति भएको छ । चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई भने मनोनित सभासद्मा हिस्सा नदिन पनि ठूला दल सहमत भएका छन् ।
२०६२ – ६३ को आन्दोलनको उपलब्धिका रुपमा संविधानसभा निर्वाचन भएको र त्यो आन्दोलनमा राप्रपा नेपाल सहभागी नभएकाले मनोनित हुने सभासद्मा हिस्सा नदिने सहमति भएको हो ।
प्रतिक्रिया