फोहोरीले फोर्स छाड : गृहमन्त्री

bamdev copyकाठमाडौ, १३ चैत । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अनावश्यक प्रभावमा पार्न खोज्ने र चाकडी चाप्लुसी गर्ने फोहोरी खेलमा लाग्नेहरूले सुरक्षा फौजमा बस्नुको कुनै औचित्य नहुने बताएका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणमा पुगेका मन्त्री गौतमले प्रकृयागत रुपमा काम कारवाही गर्न र अनावश्यक चलखेलमा नउत्रन सुरक्षा फौजका उच्च अधिकारीलाई निर्देशन दिए ।
उनले भने सुरक्षा फौजमा आफनै नियम अनुसार सकल दर्जाले काम गर्नुपर्छ । उनले भने ‘कमाण्ड र कमाण्डर सवैभन्दा महत्वपुर्ण पक्ष हो । कसैलाई कमाण्डर मन पर्छ वा पर्दैन भन्ने कुरा महत्वपुर्ण होइन । महत्वपुर्ण भनेको उसले पाएको जिम्मेवारी हो । प्रत्येक ब्यक्तिको आफनो स्वाभिमान हुन्छ । त्यसलाई गिराउन खोज्ने काम कसैले गर्नु हुदैन ।’ कार्यक्रममा मन्त्री गौतमले भने ‘तल्लो दर्जाकाले माथिल्लो तहमा जान खोज्छ । तर अनुचित काम गरेर माथी जान खोज्नु हुदैन । जान खोज्ने धेरै भएपनि माथि जाने एक जना मात्रै हुन्छ । नपाउदा गुनासो गर्ने र अन्य चलखेल गर्नु हुँदैन । यदी त्यस्तो गर्न सकिदैन भने त्यस्ताले फोर्स छोड्दा राम्रो हुन्छ ।’ सशस्त्र प्रहरीमा महानिरिक्षक कोषराज वन्त विरुद्ध एआई जीहरूले आफु महानिरिक्षक बन्नका लागी अहिले पनि विभिन्न गतिविधि र षडयन्ध गरेको भन्ने आरोप लागिरहेको बेला मन्त्री गौतमको यो भनाई सार्वजनिक भएको छ ।
यता नेपाल प्रहरीमा पनि एआई जी पदमा आकांक्षी धेरै भएका कारण बढुवा प्रकृया अगाडी बढ्न सकेको छैन । मन्त्री गौतमले सुरक्षा फौज भित्र पछिल्लो समय सरुवा र बढुवका लागी हुने गरेका चाकडी र अनावश्यक प्रभावलाई समेत घुमाउरो पारामा दर्साउन खोजेका थिए । सशस्त्र प्रहरीमा कहिले सेना पक्ष र कहिले प्रहरी पक्ष हावी हुने गरेको बताउदै मन्त्री गौतमले त्यसका कारण फौजमा केही अन्र्तविरोध पनि जन्मिएको दावी गरे । त्यसलाई कम गर्न अझै केही समय लाग्ने पनि उनले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरुवा र बढुवाका विषयलाई लिएर उच्च पदस्थ अधिकारीहरू विभिन्न नेता र दलका प्रतिनिधिहरूलाई भेटेर आफनो प्रभाव कायम गर्नमा ब्यस्त रहेका बेला गृह मन्त्री गौतमको पछिल्लो भनाई सार्वजनिक भएको छ । सशस्त्र प्रहरी बलका सकल दर्जाका अधिकृत तथा जवानहरूलाई निर्देशन दिने क्रममा मन्त्री गौतमले आफनो फौजको प्रकृया अनुसार अगाडी बढ्न र चेन अफ कमाण्ड अनुसार नै काम कारवाही र गतिविधि गर्न पनि निर्देशन दिए ।
पछिल्लो सयम विशेष गरी सशस्त्र प्रहरीमा चेन अफ कमाण्ड अनुसार अधिकारीहरू नचल्ने र एक अर्का विरद्ध आरोप प्रत्यारोप गर्ने चलन बढदै गएको छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरिक्षक कोष राज वन्तले आफनो कार्यक्रम र अहिलेसम्म भएका गतिविधिबारे जानकारी गराएका थिए । गृहसचिव जनार्दन नेपालले सशस्त्र प्रहरीको भुमिका सराहनिय भएको बताउदै यसलाई थप जिल्लामा विस्तार गर्नु पर्ने बताए । विहान आठ बजे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय पुगेका मन्त्री गौतमले तीन घन्टाभन्दा बढी समय त्यहाँ विताएका थिए । कार्यक्रममा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए ।

उत्कृष्ट छान्दै पूर्वाञ्चल प्रहरी

काठमाडौं : प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी चयन गर्ने रचनात्मक कार्यको थालनी गरेको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी नवराज सिलवालको निर्देशनमा क्षेत्रभर कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीमध्ये उल्लेख्य र विशेष कार्य गर्ने प्रहरीको कामको मूल्यांकन गरी फोटो र उत्कृष्ट कार्यको विवरण एक आवरण स्तम्भ बनाई क्षेत्रीय प्रहरी कार्यालयको प्रांगणमा राख्न थालिएको हो । खटाएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गरेको भन्दै यसपटक प्रहरी नायब निरीक्षक उत्तम कार्की पुलिस अफ द मन्थका रूपमा छनौट भएका छन् ।

प्रतिक्रिया