बेपत्ता छानबिन आयोग बन्ने

काठमाडौं १२ चैत्र । संविधानसभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पाँच दिनभित्र बनाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको ती दलका शीर्ष नेताको बैठकमा यस्तो समहमति भएको हो । उच्चस्तरीय राजनीतिक समितिले सरकार सञ्चालन र संविधान निमार्णमा सघाउने गरी काम गर्ने विषयमा पनि बैठकमा सहमति भएको नेताहरूले जानकारी दिए ।
बैठकमा प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका बारेमा पनि सकारात्मक छलफल भएको थियो । त्यसैगरी, संविधानसभा निर्वाचनमा भएका क्रियाकलापको अध्ययन गर्न संसदीय समिति बनाउन पनि नेताहरू राजी भएको बैठकमा सहभागी नेताहरूले जानकारी दिए । ‘शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्क्रमणकालीन राजनीतिको व्यवस्थापनका सम्बन्धमा छलफल केन्द्रित रह्यो,’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘विगतमा भएका सहमतिको कार्यान्वयनका पक्षमा पनि प्रमुख तीन दलबीच सकारात्मक छलफल भयो । उनले संविधानसभाको निर्वाचनमा एमाओवादीले उठाएको प्रश्न सम्बोधन गर्न र हालै भएको मूल्यवृद्धिका सम्बन्धमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने सहमति भएको पनि जानकारी दिए । एमाओवादीले संविधानसभाको दास्रो निर्वाचनमा धाँधली भएको भन्दै छानविन समिति बनाउनु पर्ने अडान राख्दै आएको छ ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीले बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग निर्माण गर्ने सम्बन्धमा सहमति भइसकेको जानकारी दिए । ‘ती विषयमा सकारात्मक छलफल भएको छ,’ उनले भने ‘समयको अभावले बाँकी रहेका विषयमा भोलि (बिहीबार) बस्ने बैठकले सबै विषयमा टुङ्गो लगाउने छ । बैठकमा मन्त्रिपरिषदले मनोनयन गर्ने संविधानसभाको २६ सीट कुन दललाई कति भन्ने दलीय भागवण्डाका बारेमा पनि छलफल भएको थियो । त्यसैगरी बैठकमा तत्काल संविधान निर्माण कार्यलाई अघि बढाउन संविधानसभाका संसदीय समितिलाई पूर्णता दिने, संवैधानिक परिषद् गठन गर्ने र राजदूत नियुक्त गर्ने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।
बिहीबार थप छलफल हुने
विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका बारेमा प्रमुख तीन दलबीच र सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सातबुादे सहमतिको कार्यान्वयनका लागि सोमवारदेखि छुट्टाछुट्टै छलफल सुरु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमै बसेको तीन दलका शीर्ष नेताबीचको बैठकले संविधान निर्माण र निरन्तर संवाद तथा छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने र शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने सहमति गरेका थिए । उनीहरूले बुधवारको बैठकमा सबै कुराको टुंगो लगाउने बताएका थिए । तर, समय अभावका कारण ती दलले बैठक बिहीवारका लागि सारेका छन् । बिहान ८ बजे बस्ने बैठकले सबै कुराको टुंगो लगाउने ती नेताहरूको दाबी छ ।
बुधवारको बैठकमा कांग्रेसका तर्फबाट सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला थिए । एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगाएत सहभागि थिए । एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, पोष्टबहादुर बोगटी लगाएत सहभागी थिए ।

प्रतिक्रिया