सरकार सञ्चालन गर्न समन्वय समिति

काठमाडौं, १० चैत । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालनलाई सहज बनाउन ‘संयुक्त सरकार समन्वय समिति’ गठन गरेका छन् । सिंहदरबारमा सोमवार बसेको दुई दलका शीर्ष नेताको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । सरकार सञ्चालनका सम्वन्धमा उच्चस्तरीय निर्णय गर्न गठन गरिएको उक्त समितिमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एव्म संसदीय दलका नेता सुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहेका छन् । एमालेका तर्फबाट एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम, संसदीय दलका नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल सो समितिमा रहेका छन् ।
साथै उक्त समितिलाई सहयोग गर्न एउटा कार्यदल समेत गठन गर्ने निर्णय भएको छ । उक्त कार्यदलमा एमालेबाट विष्णु पौडेल र भीम आचार्य रहने भएका छन् । कांग्रेसबाट कार्यदलमा बस्ने सदस्यको नाम टुङगो नलागेको बताइएको छ । समन्वय समितिकै विषयलाई लिएर मङ्गलवार एमाओवादीसहितको त्रिपक्षीय वार्ता हुने भएको छ ।

प्रतिक्रिया