मलेसियाका पूर्वप्रधानमन्त्री राजधानीमा

काठमाडौं, ८ चैत । मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा शनिवार काठमाडौ आइपुगेका छन् । मलेशियाली पूर्व प्रधानमन्त्री मोहम्मदले ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा आइतवारबाट आयोजना गर्ने व्यापार सम्मेलनमा मुख्य वक्ताका रूपमा भाग लिन उनी नेपाल आएका हुन् । पूर्वप्रधानमन्त्री मोहम्मद नेतृत्वको टोलीलाई परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनाली, महासङ्घका अध्यक्ष सुरज वैद्य, मलेसियाली दूतावासका वरिष्ठ अधिकारीका साथै उद्यमी व्यवसायीहरूले स्वागत गरेका थिए । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री कोइरालासँग पनि उनले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
चिनिया अधिकारी पनि काठमाडौंमा
चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङ नेपालको दुईदिने औपचारिक भ्रमणका सिलसिलामा शनिवार काठमाडौ आएका छन् । प्रधानमन्त्री सुशील कोइरालालाई ‘दोस्रो चीन दक्षिण एसिया व्यापार मेला’ मा आमन्त्रण गर्न गभर्नर ली नेपाल भ्रमणमा आउनुभएको हो । सात सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका गभर्नर लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाा राजदूत ऊ चुन्ताई, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, शिष्टाचार अधिकृत विजयबहादुर राउत लगायतले स्वागत गरेका थिए । चिनियाा विशिष्ट अतिथिले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया