क्रिकेटरको भव्य स्वागत

cricket copy
काठमाडौं ७ चैत । टि ट्वान्टी विश्व कप क्रिकेटको पहिलो चरणका दुई वटा खेलमा महत्वपुर्ण र एैतिहासिक जीत दर्ता गराएको नेपाली टोली स्वदेश फर्कदा उनीहरुको सम्मानमा जनलहर उर्लियो । नेपाली टोली घर फर्कने खवर पाएका सयौ समर्थक र शुभचिन्तक मध्यान्ह १२ बजेदेखी नै त्रिभुवन विमानस्थलमा जम्मा भैसकेका थिए । नेपाली खेलाडीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री पूरुषोत्तम पौडेल पनि अन्य सबै कार्यक्रम छाडेर विमानस्थल पुगेका थिए ।
जनकपुरमा एक फुटवल कार्यक्रमको उदघाटनका लागि जाने तयारीमा रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा पनि त्यो कार्यक्रम रद्ध गरेर त्रिभुवन विमानस्थलमा खेलाडीको स्वागत गर्न पुगेका थिए । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएपनि एैतिहासिक सफलता हात पार्न नेपाल सफल भयो । शुक्रवार स्वदेश फर्केको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा खेल पदाधिकारी र सयौ समर्थकले भब्य स्वागत गरे ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, नेपाल क्रिकेट संघका पदाधिकारी लगायत दर्जनौ खेल अधिकारी नेपाली खेलाडीको स्वागत गर्न विमानस्थल पुगेका थिए । दिउसो २ बजे बङलादेशबाट नेपाल आइपुगेको नेपाली टोलीको स्वागत गर्न सयौ नेपाली शुभचिन्तक र शुभेच्छुक विमानस्थल पुगेका थिए । नेपालको राष्ट्रिय झण्डा र नेपाली क्रिकेट टिमको जर्सी लगायका सयौं युवाहरुले त्रिभुवन विमास्थल भरिएको थियो । नेपाली टिमलाई विमानस्थलमा देख्ने वित्तिकै फ्यानहरुले उनीहरुको सम्मानमा नारावाजीसमेत गरेका थिए ।
नेपाली क्रिकेट फ्यानका कारण विमानस्थलका सुरक्षाकर्मीलाई समेत स्थिति नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । खेलाडीहरुलाई विमानस्थलबाट नगरपरिक्रममा सहभागी गराइएको थियो । नगर परिक्रमा गर्ने क्रममा पनि क्रिकेट फ्यानहरुले क्रिकेट टोलीलाई साथ दिएका थिए । नगरपरिक्रमा गर्ने क्रममा पनि उनीहरुको भब्य स्वागत गरिएको थियो । टि ट्वान्टी विश्व कप क्रिकेटको पहिलो चरणका तीन खेल मध्ये नेपालले दुई खेलमा जीत दर्ता गराएको थियो । एउटा मात्रै खेलमा नेपाल पराजित भएको थियो । तर रन रेटका आधारमा बराबर अंक भएपनि नेपाल अघिल्लो चरणमा प्रवेश गर्न सकेन र नेपाली टोली घर फर्कन बाध्य भयो । नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल टेष्ट मान्यता पाइसकेको घरेलु टोली बङलादेशसँग पराजित भएको थियो । तेश्रो खेलमा नेपालले अफगानिस्तालाई पराजित गरेको थियो ।
नगद पुरस्कार घोषणा
यसैबीच नेपाली टोलीलाई सरकारले नगद पुरस्कार सहित राष्ट्रिय सम्मान दिने भएको छ । काठमाडौमा शुक्रवार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली क्रिकेट खेलाडीलाई जनही नगद पाँच लाख रुपैया दिने र राष्ट्रिय सम्मान दिने घोषणा गरे ।
उनले भने, ‘सबै तयारी भइसकेको छ । अर्थमन्त्री ब्रसेल्सबाट फर्किएर आएपछि बस्ने मन्त्री परिषदको बैठकले त्यसबारे निर्णय लिन्छ ।’
उनले क्रिकेटको विकास र विस्तारको लागि क्लबले आगामि दिनमा समन्वयकारीसहित दवावमूलक अभियान सञ्चालन गर्ने जानकारी दिदै आगामि विश्वकपको लागि नेपाली क्रिकेटको आवश्यकता पुरा गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
नेपाली क्रिकेट टोलीले अफगानिस्तानलाई पराजित गरे लगत्तै काठमाडौमा रहेका सयौ समर्थक र शुभचिन्तकले विभिन्न स्थानबाट विजय जुलुस समेत निकालेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई बङलादेशमा फोन गरेरै बधाई दिएका थिए । राष्ट्रपति डा रामवरण यादवले पनि नेपाली खेलाडीको खुलेर प्रसंसा गरेका थिए । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एक विज्ञप्ती नै जारी गरेर नेपाली खेलाडीको प्रसंसा गरे । सामसुङ कंपनीले नेपाली खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ । त्यस्तै विभिन्न संचार माध्यमहरुले समेत नेपाली खेलाडीलाई नगद पुरस्कार र सम्मान दिने घोषणा यस अघि नै गरिसकेका छन् । नेपाल क्रिकेट संघ क्यानले पनि क्रिकेट खेलाडीलाई जनही १ लाख ५० हजार रुपैया दिने निर्णय शुक्रवार गरेको छ ।

प्रतिक्रिया