प्रधानमन्त्री र उपप्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं, ७ चैत । प्रधानमन्त्री सुशील कोइराला सहित दुवै उपप्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री कोइरालाको अचल सम्पत्ति रहेको छैन । प्रधानमन्त्री कोइरालाको घर, जग्गा, नगद, सुन चाँदी जवाहरत, बैंक वित्तीय संस्था, सहकारी संस्थामा रहेको खाता विवरण, धितोपत्र सेयर, ऋणको विवरण रहेको छैन । उनको सवारी साधन, कृषि तथा पशुधन छैन । उनको सम्पत्तिमा तीन थान मोबाइल टेलिफोन सेट रहेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको हाल कुनै पनि स्थानमा घर नरहेको तर भेगास सिटी बालकुमारीमा दुई तला खरिदका लागि बैनाबापत रु ५० लाख दिएको उनले पेस गरेको सम्पत्ति विवरणमा उल्लेखे छ । उक्त रकम कुमारी बैंकबाट ऋण लिएर लगानी गरेको उनले उल्लेख गरेका छन् ।
उनको जग्गाको विवरणमा हरिसदेव गौतमको नाममा बर्दिया डेउडाकला गाविस–९ मा तीन कट्ठा र भरतपुर नगरपालिकामा रु १३ लाख ३३ हजार पर्ने जग्गा रहेको छ ।तुलसा गौतमको नाममा ललितपुरको छम्पी गाविसमा सात आना दुई पैसा, तारा गौतम कुँवरको नाममा काठमाडौं साङ्ग्लामा एक रोपनी जग्गा रहेको छ ।
उपप्रधानमन्त्री गौतमको सुन ३५ तोला, चाँदी एक सय तोला, हिरा एक सेट र नगद रु पाँच लाख रहेको छ । उनको आफ्नै नामको एभरेष्ट बैंकमा रु एक लाख, हरिसदेवको कुमारी बैंकमा रु ९६ लाख, तारा कुँवर गौतमको नाममा स्टयाण्डर्ड चाटर्ड बैंक र नबिल बैंकमा न्यूनतम रकम छ । रकमको स्रोतअन्तर्गत एभरेष्ट बैंकको सभासद्को तलबबापत, कुमारी बैंकको घर बिक्रीबापत र स्टयाण्डर्ड चाटर्ड बैंकको गाडी खरिद गर्न लिएको ऋण रकम जम्मा हुने गरेको उल्लेख गरिएको छ । तुलसा गौतमको नाममा क्षमता विकास तथा ऋण सहकारी संस्था र तुलसी ट्ेरडर्समा क्रमश: रु एक लाख र रु दश लाखको सेयर नबिल बैंकको ऋणमध्येबाट भएको उल्लेख गरिएको छ ।
उनले नबिल बैंकबाट रु एक करोड ऋण लिनुभएकामा रु ५० लाख तिरेको र सवारी साधनमा तारा कुावर गौतमको नाममा हुण्डाई आई २० कार रु २३ लाखमा खरिद गरेको देखिएको छ ।
उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नाममा अचल सम्पत्तिअन्तर्गत दाजु प्रदीपमान, बहिनी मीताको संयुक्त नाममा दुई घर र घरले चर्चेको जग्गा, बहिनी मीता र उनको संयुक्त नाममा कामपा वडा नं ४ मा अपार्टमेन्ट रहेको र उक्त सम्पूर्ण पैतृक सम्पत्तिका रुपमा रहेको उल्लेख गरिएको छ ।
यसैगरी पुख्र्यौली सम्पत्तिको रुपमा बालाजु सीतापाइला, स्युचाटार, डाडा पौवा, काभ्रेस्थली, साङ्ला, इमाडोल, दधिकोट, चित्तपुरमा गरी ३२ रोपनी र धनुषामा ३० बिघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । यस्तै सुन ३५ तोला केही हिरा, अन्दाजी दुई किलाको चाँदीको सरसामान रहेको छ ।
उनको आफ्नै नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा चार लाख २३ हजार, एभरेष्ट बैंकमा ६४ हजार र श्रीमती सिर्जनाको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा रु दुई लाख ६८ हजार नगद छ । उपप्रधानमन्त्री सिंहसँग बा३च ६० नम्बरको टोयटा गाडी, श्रीमतीको नाममा बा२५प ८३७३ नम्बरको सिसी होन्डा मोटरसाइकल छ ।
श्रीमती सिंहको नाममा मनासलु विकास बैंक, महिला सहयात्रा माइक्रो फाइनान्स, महिला सहकारी र सर्वहित बचत तथा ऋण सहकारीमा क्रमश: १३ हजार दुई सय, पाँच हजार, एक हजार र २५० कित्ता सेयर रहेको छ ।

प्रतिक्रिया