मूल्यवृद्धि आशिंक फिर्ता

काठमाडौं, ६ चैत । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आंशिक रूपमा फिर्ता लिएको छ । सरकारले यसअघि बढाएको मूल्यमा झन्डै पचास प्रतिशत कम गरेको छ । नयाँ कायम गरिएको मूल्यअनुसार पेट्रोलमा ५ रुपियाँ ५० पैसा घटाइएको छ । सरकारले यस अघि पेट्रोलमा १० रुपियाँ मूल्यवृद्धि गरेको थियो । जसअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ३४ रुपियाँ ५० पैसा कायम भएको छ ।
यस्तै, डिजेल र मट्टितेलमा ६–६ रुपियाँ बढेकोमा ३ रुीपयाँ ५० पैसा घटाएर प्रतिलिटर १ सय ४ रुपियाँ ५० पैसा कायम गरिएको छ । हवाईइन्धनमा भने बढेको मूल्यलाई नै यथावत् राखिएको छ । सरकारले बिहीबार संसद बैठकलाई मूल्य घटाएको सम्बन्धमा जानकारीसमेत गराएको छ ।
मूल्य कटौति गरिएको जानकारी संसदमा दिँदै वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु बाध्यात्मक भए पनि संसद तथा अन्य सरकोकारवाला पक्षबाट उठेको आवाजलाई सरकारले सम्बोधन गर्न मूल्यवृद्धि कम गरिएको बताए ।
पेट्रोलियम पदार्थको मूल्यमा दीर्घकालीन समाधान खोज्न संसदीय छानबिन समिति बनाएर काम गरिने पनि मन्त्री आचार्यले जानकारी दिए । मन्त्री आचार्यको भनाइमा समर्थन जनाउँदै प्रतिपक्ष दललहरूले पनि समस्याको दीर्घकालीन समस्या समाधानको लागि संसदीय समिति गठन गर्नुपर्ने बताएका थिए । त्यसपछि मात्रै उनीहरूले संसद् सुचारु गर्न सहमति जनाएका थिए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि विगत केही दिनदेखि लगातार अवरुद्ध हुँदै आएको थियो । त्यसअघि बिहीबार नै पेट्रोलिम पदार्थको मूल्यवृद्धिलाई लिएर संसद बैठक अवरुद्ध भएको थियो ।
मूल्यवृद्धिमा कटौति गर्ने सरकारको निर्णयपछि बसेको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले सरकार र विपक्षीबीच दूरी बढाउने पक्षमा आफू नरहेको बताए ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि विपक्षीहरूलाई पेलेर अघि नबढ्न सरकारलाई आग्रह गरे ।
आन्दोलन जारी रहने
सरकारले आंशिक रूपमा मूल्यवृद्धि फिर्ता लिए पनि विद्यार्थी संगठनहरूले भने आफ्नो आन्दोलन जारी राख्ने भएका छन् । सरकारले आंशिक रूपमा मूल्यवृद्धि फिर्ता लिए पनि यसको स्थायी र दीर्घकालीन उपाय खोजिनुपर्ने भन्दै उनीहरूले आन्दोलन जारी राख्ने भएका हुन् ।
‘हाम्रो माग मूल्य बढेको दुई चार रुपियाँ घटाउन होइन,’ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले भने ‘हाम्रो आन्दोलन पूरै मूल्यवृद्धि फिर्ता गराउनु र यसको स्थायी र दीर्घकालीन समाधान खोज्नुपर्ने भएकाले आन्दोलन रोकिन्न ।’
अध्यक्ष रसाइलीले अन्तर्राष्टिय बजारअनुसार मूल्य समायोजन भए कसैको पनि टाउको दुखाइ नहुने भन्दै घाटा भयो भन्दै मनपरी मूल्यवृद्धि गर्न नहुने धारणा राखे ।
उनले मूल्यवृद्धि फिर्ता लिन र यसको दीर्घकालीन समाधान खोज्न ध्यानाकर्षण गराउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, ३३ दलीय मोर्चालगायतसँग भेटघाट गरेको जानकारीसमेत दिए । मूल्यवृद्धि सतप्रतिशत नै नघटाए एसएलसी लगत्तै आमहड्तलामा समेत आफूहरू उत्रन बाध्य हुने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया