बन्दले देशभर जनजिवन प्रभावित

काठमाडौं, ५ चैत । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विभिन्न विद्यार्थी संगठनले आयोजना गरेको बन्दका कारण काठमाडौा उपत्यकाको जनजीवन प्रभावित भएको छ । अखिल क्रान्तिकारी लगायत दर्जन बढी विद्यार्थी संगठनले गरेको बन्दले उपत्यकामा बिहानैदेखि सवारी साधन कम चल्दा कामकाजी कर्मचारी एवम् सर्वसाधारण मर्कामा परेका छन् ।
अधिकांश कर्मचारी घन्टौं हिाडेर गन्तव्यसम्म पुग्न बाध्य भएका थिए । आन्दोलनरत विद्यार्थीले बिहान उपत्यकाका क्याम्पस अगाडि प्रदर्शन गरेका थिए । बन्दका कारण बिहान सडकमा सवारीका साधन कम चलेपनि प्रहरी सुरक्षाका कारण अहिले सडकमा सवारी साधन बाक्लिएका छन् । मूल्यवृद्धिको व्यवस्थापिका–संसद्मै मूल्यवृद्धिका बारेमा कुरा उठिसकेकाले सरकारले सम्बोधन गर्ने भन्दै नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले बन्दमा सहभागी जनाएनन् ।
‘नेपाली जनताले बन्द चाहेका छैनन, सदनमै यो कुरा उठिसकेकाले शान्तिपूर्ण विद्यार्थी आन्दोलन जारी रहेपनि बन्दको कार्यक्रम नगर्ने पक्षमा छौ,’ अनेरास्ववियुकी महासचिव नविना लामाले भनिन् ।
यसैबीच अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले एक विज्ञप्ति जारी गरी बन्दका क्रममा पक्राउ परेका अध्यक्ष हिमाल शर्मा लगायतका पदाधिकारी तथा सदस्यलाई तत्काल रिहा गर्न माग गरे ।
दर्जन सवारी साधनमा आगजनी
बन्दकर्ता विद्यार्थीले काठमाडौाका विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका छन् । आक्रोशित विद्यार्थीको समूहले बिहान काठमाडौको पुरानो बसपार्कमा सिन्धुपाल्चोक जाने तयारीमा रहेको बा२छ ८७९ नम्बरको जुगल ट्राभलको गाडीमा आगजनी गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार आन्दोलित विद्यार्थी यात्रुका रुपमा बसमा प्रवेश गरी पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । बसका सम्पूर्ण सिट जलेर नष्ट भएका छन् ।
त्यस्तै शङ्खमूल चोकमा आन्तरिक राजस्व विभागको बा१ब ५०२० नम्बरको मोटरसाइकलमा आगो लगाई पूर्णरुपमा क्षति पुर्‍याइएको छ । मध्यबानेश्वरमा बा१घ २६९७ नम्बरको टयाम्पु र बा१ज ७४९९ नम्बरको टयाक्सीमा तोडफोड गरी क्षति पुर्‍याइएका छन् । त्यसैगरी आन्दोलनकारीले शान्तिनगर गेटमा बा२ख ९१९३ नम्बरको भाडाको माइक्रोबस र बा२ख २८३५ नम्बरको माइक्रोबस क्षति पुर्‍याएका छन् ।
मध्यबानेश्वर खरिबोटस्थित बा१ज ३८१० र बा१ज ३०६३ नम्बरको भाडाको टयाक्सीमा क्षति भएको छ । कोटेश्वर–जडीबुटीमा बा१ज ८८४३ नम्बरको टयाक्सीमा आगजनी भएको कोटेश्वर ट्राफिक प्रमुख प्रहरी निरीक्षक विदुर थापाले जानकारी दिए ।
एसएलसीलाई मध्यनजर गर्दै बन्द नगर्न आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले भोलिदेखि सुरु हुने एसएलसी परीक्षा प्रभावित हुने भएकाले मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीहरूलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । आयोगले बुधबार जारी गरको प्रेस विज्ञप्तिमा मूल्यवृद्धि र बन्दबाट सर्वसाधारण तथा परीक्षार्थीमा पर्ने नकारात्मक असरप्रति गम्भीर बनेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । आयोगका निमित्त सचिव सुवर्ण कर्माचार्यले बिहीबारदेखि सुरु हुन लागेको एसएलसी परीक्षालाई मध्यनजर गर्दै विद्यार्थी संगठनले बन्दलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने बताए ।
उनले नेपाल आयल निगमले गरेको मूल्यवृद्धिबाट सर्वसाधारणको सहजतापूर्वक जीवनयापन गर्न पाउने अधिकारमा असर परिरहेको अवस्थामा विद्यार्थी संगठनहरूबाट आयोजना गरिएको बन्दको कार्यक्रमले नागरिकहरूको थप मानव अधिकार उल्लंघन भई जीवन कष्टकर भएको बताए । आयोगले जारी गरेको विज्ञप्तिमा बन्दका क्रममा सवारी साधनहरूमाथि भएको तोडफोड तथा आगजनी र आवागमनमा अवरोध हुँदा सुरक्षित र निर्भयपूर्वक हिडडुल गर्ने नागरिकको अधिकार हनन् भएकाले आयोगको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
मूल्यवृद्धिबाट नागरिकहरूलाई परेको समस्या समाधान गर्न वार्ता र संवादको माध्यम अपनाई मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगले नेपाल सरकार, आन्दोलनरत विद्यार्थी संगठन एवं सरोकारवाला निकायहरूसँग अनुरोध गरेको छ ।
शर्मा हिरासतमै भोक हड्तालमा
अखिल क्रन्तिकारी अध्यक्ष हिमाल शर्मा प्रहरी हिरासतमै भोक हड्तालमा बसेका छन् । उपत्यका बन्दका क्रममा बुधबार बिहान ६ बजे काठमाडौंको रत्नपार्कमा शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएका शर्माले हिरासतमै भोक हडताल सुरु गरेका हुन् । प्रहरीले खाना खान आग्रह गरेपनि शर्माले खान अस्वीकार गरेका छन् । मुल्यबृद्धि फिर्ता नभएसम्म भोकहड्तालमा बस्ने शर्माको घोषणा छ । शर्मा एकीकृत माओवादीका केन्द्रीय सदस्य पनि हुन् ।
मूल्यबृद्धि विरोधमा आन्दोलनमा उत्रिएका १५ विद्यार्थी संगठनको पहिलो चरणको संयुक्त आन्दोलन बुधबारबाट सकिएको छ । छिट्टै नयाँ चरणका कार्यक्रम घोषणा गरेर आन्दोलनलाई सशक्त बनाउने अखिल क्रन्तिकारीको तयारी छ ।
मूल्यबद्धि विरुद्धको आन्दोलनमा सहभागी भएपनि नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले भने बन्दलाई साथ दिएनन् । सरकारले गत शुक्रबार पेट्रोलमा १० रुपैंया, डिजेल र मट्टतेलमा ६/६ रुपियाँ बद्धि गरेको थियो । एक सातादेखि विद्यार्थीको आन्दोलन जारी रहे पनि सरकार कुनै पनि हालतमा मूल्यबृद्धि फिर्ता नलिने अडानमा छ ।

प्रतिक्रिया