रसिया र युक्रेनमाथि इयुको प्रतिबन्ध

काठमाडौ, ३ चैत । युरोपियन युनियन र अमेरिकाले रसिया र युक्रेनका २१ उच्च अधिकारीलाई यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरूले ती उच्च अधिकारीको सम्पत्तिसमेत रोक्का गर्ने निर्णय गरेका छन् । तर, प्रतिबन्ध लगाइएका ती उच्च अधिकारीको नाम भने खुलाइएको छैन । तर, सुत्रहरूका अनुसार क्राइमियामा जनमतसंग्रह गराउन महत्वपूर्ण भूमिका खेल्नेहरू २१ भित्र परेका छन् । क्राइमिया युक्रेनबाट अलग भएर रसियासँग गाभिनका लागि औपचारिक आवेदन दिएलगत्तै युरोपियन युनियनले यस्तो कदम चालेको हो ।
क्राइमियामा आइतवार भएको जनमतसंग्रहमा ९७ प्रतिशत मतदाताले रसियासँग गाभिनुपर्नेमा मत दिएका थिए । गत फेब्रुअरीको अन्तिम साताबाटै क्राइमियामा रसियाली सैना तैनाथ गरिएका थिए । युरोपियन युनियनका विदेशमन्त्रीहरूको बेल्जियमको ब्रसेल्समा बसेको बैठकले प्रतिबन्धको निर्णय गरेको हो । क्राइमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै औपचारिक रूपमा रसियामा गाभिनका लागि आवेदन पनि दिएको छ । तर युक्रेनका अधिकारीहरूले भने सो जनमतसंग्रहलाई अस्वीकार गर्दै आएका छन् ।
औपचारिक आवेदन
जनमतसंग्रहपश्चात युक्रेनका निर्वाचन आयोगले कुल ८३ प्रतिशत जनता मतदानमा सहभागी भएको जानकारी दिए । जसमा ९७ प्रतिशतले रसियाको पक्षमा मत दिएका थिए । तातार समुदायले भने सो निर्वाचनलाई बहिष्कार गरेको थियो । क्राइमियाको जनसंख्याको १२ प्रतिशत तातार समुदाय रहेका छन् । युक्रेन, अमेरिका र युरोपियन युनियनले भने सो जनमतसंग्रहलाई अवैध मानेका छन् । साथै उनीहरूले चुनावी प्रक्रियाको पनि कडा आलोचना गरेका छन् । क्राइमियामा गत महिनाबाटै रुसी सैनिक तैनाथ छन्् । तर, रसियाले भने ती सैनिकमाथि आफ्नो प्रत्यक्ष नियन्त्रण नभएको दाबी गर्दै आएको छ ।
युक्रेनमा विगत केही महिनादेखि राजनीतिक संकट सुरु भएको थियो । गत २२ फेब्रुअरीमा राष्ट्रपति भिक्टर यान्कुबीच अपदस्त भएपछि क्राइमियाको राजनीतिक संकट सुरु भएको हो । सोमबार क्राइमियाको संसदमा पारित भएको प्रस्तावअनुसार अब क्राइमियामा युक्रेनको कुनै कानुन लागु हुने छैन । साथै क्राइमियामा रहेको युक्रेनी सरकारको सबै सम्पत्तिमा क्राइमियाकै हक लाग्नेछ । यता युक्रेनले भने आफ्ना ४० हजार सुरक्षा फौजलाई सम्भावित युद्धका लागि तयार रहन निर्देशन दिइसकेको छ । युक्रेनका वर्तमान सत्ताधारीहरूले भने क्राइमियाको निर्वाचनलाई हाँस्यास्पद भन्दै त्यसलाई नमान्ने बताउँदै आएका छन् । जसका कारण आगामी दिनमा युक्रेनको राजनैतिक संकट थप बढ्ने पक्का छ ।

प्रतिक्रिया