हर्षोल्लासका मनाइयो होली

काठमाडौं, २ चैत । रङहरुको पर्व होली आज उपत्यकालगायत देशका पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइयो । विगतका तुलनामा राजधानी काठमाडौको होली शान्त र सौहार्दपूर्ण रहेको प्रहरीले जनाएको छ ।
विभिन्न स्थानमा जम्मा भएका युवा युवतीले आपसमा रङ र पानी छयापेर होली खेले । स–साना बालबालिकाहरु पनि होलीमा रमाइरहेका भेटिन्थे । उपत्यकाका विभिन्न चोकमा सांस्कृतिक कार्यक्रम समेत गरेर युवा युवतीले होली मनाएका थिए । काठमाडौंको सानो गौचरण खेल मैदानमा पनि स्थानियले होलीको विशेष कार्यक्रम नै आयोजना गरेका थिए ।
विगतका वर्षहरुको तुलनामा यस पटक प्रहरीको सक्रिय बढी नै देखियो । विभिन्न चोकमा प्रहरीहरु तैनाथ गरिएका थिए । पेट्रोलिङ मार्फत पनि प्रहरी निकै सक्रिय देखिन्थे । प्रहरीको तैनाथीका कारण पनि होली अराजक हुन नपाएको सर्वसाधारण बताउछन् । तर प्रहरीले केही स्थानमा भने अनावश्यक हस्तक्षेप र बन्देज लगाएको गुनासो पनि सर्वसाधारणले लगाए । पूर्वसुरक्षा सतर्कता, चेतना विस्तार र कानुनी कारबाहीको डरका कारण पनि होली पथि सभ्य र सौहार्द बन्दै गएको सर्वसाधारणको अनुमान छ । मुलुकभरका नागरिकको बसोबास रहेको उपत्यकामा बहुसांस्कृतिक र समावेशी चरित्रको होली आइतवार देख्न पाइयो । विभिन्न सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान र संस्थाले समेत होलीको अवसरमा विशेष कार्यक्रम आयोजना गरे ।
होली खेल्नेक्रममा दुई बालकको ज्यान गयो
होली खेल्ने क्रममा भएको दुर्घटनामा दुई बालकको मृत्यु भएको छ । बार नभएको छतबाट लडेर र होली खेल्न हिँडेको हुलसँग भागदौड गर्दा आइतबार दुई बालकको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा धापासी–९ का १२ वषिर्य अर्पण राई र धर्मस्थली–जरंखुका १४ वर्षिय अनिल महर्जन हुन् ।
धर्मस्थली जरंखुमा प्रहरीको पेट्रोलिङ् टोली देख्नेबित्तिकै होली खेल्न बसेका केटाहरु भागाभाग गर्ने क्रममा महर्जनको लडेर मृत्यु भएको बताइएको छ । भाग्दा भाग्दै बालक महर्जन बेहोस भएको र अस्पताल पुर्‍याउने वित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई तुरुन्त जनमैत्री अस्पताल बालाजु पुर्‍याइयो। अस्पतालले उनलाई मृत घोषणा गर्‍यो ।
कुनै पुरानो विमार मृत्युको कारण हुनसक्ने प्रारम्भिक अनुमान डाक्टरहरुले लगाएको प्रहरीले बताएको छ । मृत्यु हुने अर्का बालक राई घरको छतबाट खसेका थिए । प्रहरीले दिएको जानकारी अनुसार राईको तीन तलाको छतबाट लोला हान्ने क्रममा तल खसेर मृत्यु भएको हो । राईलाई तुरुन्त इशान बाल अस्पताल बसुन्धरा लगियो र थप उपचारका लागी न्युरो अस्पताल बासबारी पठाइएको थियो ।
न्यूरो अस्पताल पुर्‍याउनेबित्तिकै १२.२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले होलीको दिन काठमाडौंमा सुरक्षाकर्मी तैनाथ गर्नुका साथै ब्यापक मात्रामा पेट्रोलिङ पनि गरेको थियो । प्रहरीले शान्ती सुरक्षा कायम गर्ने भन्दै जथाभावी होली खेलेको भन्दै विभिन्न स्थानबाट केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

प्रतिक्रिया