चर्कियो मूल्यवृद्धि विरुद्धको आन्दोलन

चैत्र १ फागुन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलन चर्किएको छ । विद्यार्थी संगठनहरूले मूल्यवृद्धिको विरोधमा ५ चैतमा उपत्यका बन्दको घोषणासमेत गरेका छन् । आन्दोलनकारीले शनिबार मध्यबानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि एक सरकारी गाडीमा आगजनीसमेत गरेका छन् । आन्दोलनरत समूहले शिक्षा मन्त्रालयको बा १ झ ५६८० नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै १६ विद्यार्थी संगठनले शनिबार दिउसो प्रदर्शनीमार्गस्थित आरआर कलेजबाट विरोध र्‍यालीसमेत निकालेका छन् । भृकुटी मण्डपबाट शान्ति बाटिकामा पुगेर समापन गरिएको विरोधसभाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
एमाले भातृ संगठन युवा संघ नेपालले पनि शनिबार मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । मूल्यवृद्धिको विरोधमा बानेश्वरमा भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्ने क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । अखिल क्रान्तिकारीको बागबजारस्थित कार्यालय शनिबार नै बसेको १६ विद्यार्थी संगठनको बैठकले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
यस्तै आगामी आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार देशव्यापी प्रदर्शनका साथै ९ बजेदेखि १० बजेसम्म सबै क्याम्पस अगाडि चक्काजाम गर्ने र दिनभर नै सरकारी गाडी गुड्न नदिने, सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने, देशव्यापी मसाल जुलुस गर्ने छन् । १६ विद्यार्थी संगठनले ५ चैतमा उपत्यका बन्दको घोषणा समेत गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पाँच दिनभित्र सरकारले मूल्यवृद्धिको निर्णय फिर्ता नलिए आमहड्तालसहित सशक्त आन्दोलन गर्ने विद्यार्थी संगठनहरूले चेतावनी दिएका छन् । कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले बढेको मूल्य फिर्ता नभएसम्म विद्यार्थी आन्दोलन जारी रहने बताए ।
नेपाल विद्यार्थी संगठनका अध्यक्ष रञ्जित कर्णले मूल्यवृद्धिको फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए । अध्यक्ष कर्णले १६ संगठनको आन्दोलनमा आफ्नो संगठन सहभागी नहुने भन्दै बन्दको साटो आफ्नो संगठन अनसन बस्न तयार रहेको उल्लेख गरे । कार्यक्रममा अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सरकारले मुल्यबृद्धि फिर्ता नगरे आमहडताल गर्न बाध्य हुने चेतावनी दिए । नेकपा –माओवादी निकट अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष शरद रसाईलीले केही रकम घटाएर विद्यार्थर्ी फकाउने प्रयास नगर्न चेतावनी दिए ।
यता, प्रमुख प्रतिपक्ष दल एमाओवादीले पनि मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले शनिबार राजधानीमा पत्रकारहरूसँग महँगीविरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिए ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले पनि मूल्यवृद्धिको विरोध गरेको छ । गरिबी, महँगी, लोडसेडिङजस्ता समस्याबाट आक्रान्त बनेका नेपाली जनताको जीवन यस मूल्यवृद्धिले झनै कष्टकर बनाउने भन्दै मोर्चाले मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी विरोध भईरहदा नेपाल सरकारका मुख्यसचिव लिलामणी पौडेलले भने बिरोध गर्नुको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले बाध्य भएर मुल्य बढाएको बताए ।

प्रतिक्रिया