पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

aandolan copyकाठमाडौं, ३० फागुन । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा सरकार गठन भएलगत्तै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरिएको छ । नयाँ सरकार बनेलगत्तै गरिएको मूल्यवृद्धिको चौतर्फी विरोध सुरु भएको छ । एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी, १३ विद्यार्थी संघ संगठनलगायतले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जनताका अति आवश्यकीय दैनिक उपभोग्य वस्तुहरूमा भएको मूल्यवृद्धिप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । एमाओवादीले पेट्रोलियम पदार्थका साथै पेय पदार्थ र दूग्ध पदार्थहरूमा मूल्यवृद्धि गराएर सरकारले जनताको थाप्लोमा महँगीको भार थोपरेको जिकिर गरे ।
एमाओवादीले सरकारको उक्त निर्णयको घोरविरोध र भत्र्सना गर्दै मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गरेको छ । यसैगरी, मोहन वैद्य नेतृत्त्वको नेकपा–माओवादीले पनि मूल्यवृद्धिको चर्को विरोध गरेको छ । माओवादीले मूल्यवृद्धि फिर्ता नलिए जनता आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ । दुई दिनअघि मात्र दूधको मूल्य बढाएको सरकारले शुक्रबारबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो मूल्यबृद्धिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ ।’
संयुक्त जनसमितिका संयोजकसमेत रहेका गुरुङले निगमभित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रूपमा भर्ती गरिएका कर्मचारीहरूको बोझ र व्यवस्थापन असमर्थताका कारण निगम घाटामा गएको प्रष्ट भएको भन्दै सरकार त्यसतर्फ पूरै आँखा चिम्लेर जनतामाथि आफ्नो कमजोरी थोपरिरहेको आरोपसमेत लगाएका छन् ।
यस्ता गतिविधि बन्द गर्न र मूल्यवृद्धि तत्काल फिर्ता लिएर जनविरोधी निर्णय नगर्न माओवादीले सरकारलाई आग्रहसमेत गरेको छ ।
यसैगरी, विभिन्न विद्यार्थी संगठनले पनि मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । १३ विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै २४ घन्टाभित्र मूल्यवृद्धि तुरुन्त फिर्ता गर्न सरकारलाई चेतावनी दिएको छ ।
विद्यार्थी संगठनले शनिबार दिउँसो २ बजे आरआर क्याम्पसबाट संयुक्त विद्यार्थी संगठनको तर्फबाट सशक्त विरोध प्रर्दशन गर्ने कार्यक्रमको घोषणासमेत गरेका छन् । मूल्यवृद्धि फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
भारी मूल्यवृद्धी
नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो । आयल निगमले ६ महिना बित्न नपाउँदै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १० रुपियाँ र डिजेल तथा मट्टीतेलमा ६ रुपियाँ मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४० पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य १ सय ९ रुपियाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि मूल्य बढाएको छ । हवाई इन्धनमा आन्तरिकमा प्रतिलिटर ६ रुपियाँ र बाह्यका लागि प्रतिकिलोलिटर एक सय डलर मूल्य बढाएको हो ।
घाटा कम गर्न मूल्य बढाएको दाबी
निगमले आफूलाई मासिक एक अर्ब ६९ करोड रुपियाँ घाटा लागेको बताउँदै आएको छ । अहिलेको मूल्यवृद्धिपछि निगमको मासिक घाटा १ अर्ब ६९ करोडबाट घटेर १ अर्ब १ करोड हुने बताइएको छ ।
निगमका अनुसार यो मूल्यवृद्धिबाट निगमलाई पेट्रोलमा ११ रुपियाँ ६० पैसा, मट्टीतेलमा ११ रुपियाँ ६३ पैसा, हवाई इन्धन आन्तरिकमा ३६ रुपियाँ ८६ पैसा र अन्तर्राष्ट्रियमा ४० रुपियाँ ५५ पैसा नाफा हुनेछ । तर, डिजेल र खाना पकाउने एलपी ग्याँसमा भने क्रमश: ५ रुपियाँ ३९ पैसा र ८ सय ६४ रुपियाँ ९२ पैसा घाटा हुने निगमको दाबी छ । निगमले यसअघि गत कात्तिकमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया