कार्यशैली सच्याउँनुस्

काठमाडौं २८ फागुन । एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अध्यक्ष पुष्प कमल दाहालको कार्यशैली सन्तोषजनक नभएको बताएका छन् ।
पार्टीको नयाँकार्यदिशा र संगठन निर्माणका विषयमा देखिएको आन्तरिक कलह मिलाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सँग भएको छलफलमा उनले त्यस्तो धारणा राखेका हुन् ।  नेता भट्टराईले अध्यक्ष दाहालको कार्यशैलीको आलोचना गर्दै नयाँ शक्ति बन्न सक्ने चेतावनी दिएको श्रोतले जनाएको छ ।
दाहाल निवास लाजिमपाटमा भएको भेटमा  नेता भट्टराईले अहिलेसम्मको पार्टी चलाउने शैली परिवर्तन गर्न अध्यक्ष दाहाललाई आग्रह समेत गरेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार भट्टराइले पार्टीलाई नयाँ विचार सहितको नयाँ शक्तिमा बदल्नुको विकल्प नभएको बताएका थिए ।
उनले त्यसका लागि अध्यक्षले नै हिम्मत गर्नुपर्ने तर्क गरेका छन् । भेटमा अध्यक्ष दाहालले आन्तरिक एकता कमजोर हुनेगरि गुटगत बैठक बोलाएकोमा असन्तुष्टि व्यक्त गरेको दाहालको निजी सचिवालयले जनाएको छ । दुई नेताबीचको छलफलमा संविधानसभामा  बन्ने विषयगत समितिमा आफ्नो पार्टीले लिने नेतृत्वका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया