काठमाडौं २६ फागुन । जनताको गुनासो प्रत्यक्षरूपमा सुन्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थापना गरेको ‘हेलो सरकार’मा ब्यक्तिगत समस्यादेखि राष्ट्रिय स्तरका समस्यासम्मले स्थान पाएका छन् । राजधानीको म्हेपीमा मदिरा पिएको भन्दै प्रहरीले आफूलाई थप्पड हानेको गुनासो गर्दै एक व्यक्तिले केही समय अघि ‘हेलो सरकार’मा उजुरी गरे । उनले टिपाएको उजुरीमा सामान्य मदिरा पिएर हिड्दासमेत प्रहरीले दु:ख दिएको उल्लेख छ । ‘हेलो सरकार’मा स्वयम्भुको ठूलो भर्याङमा गुन्डाहरूले रकम उठाउँदै गरेको र धारामा पानी नआएको विषय पनि उजुरीका रूपमा दर्ता भए ।
त्यसैगरी पासपोर्ट लिन महिनौ कुर्नु परेको, अपांग भत्ता नपाएको, राष्ट्रिय संग्राहलय सफा हुनुपर्ने, ग्यासको कालोबजारी रोक्नुपर्ने, ठमेल–गोंगबुको बाटो साघुँरो भएको र कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन नखुलेको जस्ता गुनासो पनि ‘हेलो सरकार’मा उजुरी परे ।
वृद्धभत्ता ६० वर्षमै दिनु पर्ने, सार्वजनिक यातायातमा वृद्ध, अपांगका सिट सुरक्षित नभएको र जनआन्दोलका घाइतेले भत्ता नपाएको जस्ता गुनासो पनि ‘हेलो सरकार’मा दर्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ‘हेलो सरकार’मा सामान्य प्रकृतिका गुनासो पनि त्यतिकै मात्रामा दर्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए ।
कुलेश्वरमा धारामा पानी नआएको, पसलेहरूले बिल नदिएको, सार्वजनिक यातायातमा विद्यार्थीले छुट नपाएको, मापसे चेकिङ मोटरसाइकलवालालाई मात्रै गरिएको, वैदेशिक रोजगारीको सन्दर्भमा ठगिएको, गुल्मीको शान्तिपुरमा बादँरले दु:ख दिएको जस्ता गुनासा पनि ‘हेलो सरकार’’मा दर्ता भएका छन् ।
२७ ओटा मन्त्रालय र तीबाहेक अन्य गरी ३३ वटा केन्द्रीयस्तरका निकायमा अहिलेसम्म २८ हजार ५ सय ४० वटा गुनासाहरू दर्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
तीमध्ये २७ हजार ७ सय ९६ वटा गुनासोको सुनुवाइ भएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए । ०७० माघ मसान्तसम्मको यो तथ्यांकअनुसार गृह मन्त्रालयमा सबैभन्दा बढी ४ हजार २ सय ६२ वटा गुनासा दर्ता भएका छन् ।
गृहमन्त्रालयसँग सम्बन्धित गुनासाहरूमा विदेशीहरू अवैधरूपमा नेपालमा बसिरहेका, सीतापाइला चौकमा रोक्ने माइक्रोबसले भाडामा ठगेको, भोजपुरको प्याउलीमा प्रहरीले ज्यादती गरेको जस्ता गुनासा दर्ता गराएको सचिव बास्कोटाले जानकारी दिए । सोमबार सिंहदरबारमा अयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार शिक्षा मन्त्रालयमा ३ हजार ३४ वटा गुनासाहरू दर्ता भएका छन ।
शिक्षा मन्त्रालयसँग सम्बन्धित गुनासाहरूमा शैक्षिक ऋण पाउन नसकेको, एसएलसी परीक्षामा लोडसेडिङ नहोस् भन्ने माग गरेको, परीक्षाफल समयमा प्रकाशित नभएको, छात्रामाथि दुव्र्यवहार गर्ने शिक्षकउपर कारवाही हुनुपर्ने रहेको पनि बास्कोटाले जानकारी दिए । त्यसैगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय १ हजार ७ सय ८९ वटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ हजार ६ सय १३ वटा गुनासो दर्ता भएका छन् । वाणिज्य तथा आपूर्ती मन्त्रालयसाग सम्बन्धित १ हजार १ सय ५६, अर्थ मन्त्रालय अन्तर्गत १ हजार १ सय १४ र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ९ सय ३७ वटा गुनासाहरू दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
उजुरी परेका उर्जा, कानून, कृषि विकास, परराष्ट्र, भूमिसुधार, महिला, युवा, रक्षा, वन, विज्ञान, शान्ति, शिक्षा, स्थानीय विकास, सामान्य प्रशासन, सिंचाई, सहरी विकास, सहकारी र सूचना तथा सञ्चार मन्त्रालयले सबैको सुनुवाइ गरेको सचिव बास्कोटाले जानकारी दिए ।
राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र त्रिभुवन विश्व विद्यालयले पनि प्राप्त सबै गुनासोको फछर्योट गरेको बास्कोटाले जानकारी दिए । अर्थ, उद्योग, गृह, पर्यटन, भौतिक, श्रम र स्वास्थ्य मन्त्रालय तथा नेपाल दूरसंचार कम्पनीले भने गुनासो फर्छर्यौट गर्न बाँकी रहेको बताइएको छ ।
११११ हेल्लो सरकारको टोल फ्रि नम्बर
‘हेलो सरकार’मा उजुरी दर्ता गराउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको टोल फ्रि नम्वर ‘११११’ मा डायल गरी सोझै सम्पर्क गर्न सकिने ब्यवस्था मिलाएको बास्कोटाले जानकारी दिए । सो गुनासोलाई कर्मचारीले टिपेर सम्बन्धित निकायमा फछर्यौटका लापग पठाउँने गरेको उनले जानकारी दिए । ‘हेलो सरकार’को स्थापना १७ कार्तिक ०६८ मा भएको हो ।
प्रतिक्रिया