एक वर्षभित्रै संविधान जारी हुन्छ : उपसभामुख

onsari_gharti copyकाठमाडौं, २४ फागुन । संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगरले जसरी भए पनि एक वर्षभित्रै संविधान जारी हुने बताएकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दलित सेवा संघद्वारा शनिबार आयोजित ‘नयाँ संविधानमा दलित महिलाका अधिकार’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा घर्तीमगरले भनिन्, ‘महिला, मधेसी, मुस्लिम, दलित तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरिएको संविधान एक वर्षभित्रमै जारी गर्नुपर्छ, त्यसका लागि दलीय सहमति र एकताको खाँचो छ ।’
महिलाभित्र दलित महिला र दलित समुदायभित्र पनि दलित महिला नै सबैभन्दा बढी उत्पीडनमा पारिएको हुँदा उनीहरूको अधिकारलाई संविधानमा सुनिश्चित गराउन गैरदलित महिला र विभिन्न राजनीतिक पार्टीलगायत सबैको उत्तिकै भूमिका हुने उनको भनाई थियो ।
नेपाली कांग्रेसकी नेतृ मीना पाण्डेले २१ औँ शताब्दीमा पनि मान्छेले मान्छेलाई जातीय आधारमा विभेद् गर्नु अपराध भएको टिप्पणी गर्दै त्यसलाई व्यवहारमै अन्त्य गर्नुपर्ने धारणा राखिन् । यो वर्ष ‘महिला नेतृत्वका लागि हौं जम्मा, घरदेखि संविधानसभासम्म’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । अन्तर्राष्ट्रिय रूपमा ‘समानता महिलाका लागि, प्रगति सबैका लागि’ भन्ने नाराका साथ १०४ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०१४ विश्वभरिका महिलाले मनाएका छन् ।

प्रतिक्रिया