संसद नछाड : कांग्रेस

काठमाडौं,२३ फागुन । व्यवस्थापिका संसद्को बैठकमा गणपुरक संख्या नपुगेर संसदको कारबाही स्थगित गरेको भोलिपल्टै सत्तारुढ नेपाली कांग्रेसले आफ्ना सभासभाहरूलाई २६ फागुनको संसद्को बैठकमा अनिवार्य उपस्थित हुन पत्राचार गरेको छ ।
बिहीबार सरकारको तर्फबाट सुर्पुदगी अध्यादेश २०६९ र संगठित अपराध निवारण अध्यादेश २०६९ स्वीकृतिको लागि सदनमा प्रस्तुत हुन लाग्दा प्रतिपक्षी दल एमाओवादीका सभासद् रामनारायण विडारीले सदनको गणपूरक संख्या नपुगेको भनी नियमापत्ति गरेपछि सभामुखले सदनको कारबाही नै स्थगित गर्नु परेको थियो ।
प्रधानमन्त्री एवं संसदीय दलका नेता सुशील कोइरालाले आफू दलको नेता र प्रधानमन्त्री निर्वाचित भएको झण्डै महिनादिन पुग्न लाग्दा पनि संसदीय दलको प्रमुख सचेतक र सचेतक तथा दलको सचिव नियुक्ति नगरेपछि पार्टीको तर्फबाट सभासद् एवं पार्टी सचिव चिनकाजी श्रेष्ठले सभासदहरूलाई पत्राचार गरेका हुन् ।
यसैबीच संविधानसभाको नियमावली मस्यौदा २९ फागुनमा  सभाको बैठकमा निर्णयार्थ पेश हुनसक्ने संभावनालाई मध्यनजर गर्दै कांग्रेस सचिव श्रेष्ठले नियमावली मस्यौदा संविधानसभाको बैठकबाट पारित नहुँदासम्म उपस्थित रहन २० फागुनमा नै सभासद्हरूलाई पत्राचार गरिसकेका छन् ।
शुक्रबार जारी भएको पत्रमा श्रेष्ठले पार्टीका सम्पूर्ण सभासद्हरूलाई संसद्को अगामी बैठकमा सरकारतर्फबाट प्रस्तुत हुने अध्यादेशहरू स्विकृतिको पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन उर्दी जारी गरेका छन् । शुक्रबारको बैठकमा सचिवालयका कर्मचारीले सदस्यहरूको गणना गर्दा १२७ जना सदस्यहरू मात्रै उपस्थित देखिएका थिए । सदनको कारबाही सूचारु गर्न सदनमा कम्तिमा एक चौथाइ सदस्य अर्थात १४३ जना उपस्थित हुनुपर्दछ ।

प्रतिक्रिया