काठमाडौं, २३ फागुन । भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंह दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउने भएका छन् । सैनिक स्रोतका अनुसार जनरल सिंह फागुन २९ मा काठमाडौं आउने भएका हुन् । सिंह नेपाल–भारत बीचमा भइरहेको संयुक्त सैन्य तालिमको अवलोकन गर्न काठमाडौं आउन लागेको बताइएको छ । यसअघि प्रधानसेनापती गौरवशमशेर राणाले पनि बटालियनस्तरको संयुक्त सैन्य तालिमको अवलोकनका लागि भारतको पिथौरगढ भ्रमण गरेका थिए ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदिश पोखरेलले भारतीय सेनाअध्यक्ष नेपाल भ्रमणमा आउन लागेको पुष्टि गरे । ‘नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाको चिफ जनरल सिंह नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ, उहाँ नेपाल भारतका सेनाबीचको संयुक्त सैन्य अभ्यासमा सहभागी हुन आउन लाग्नुभएको हो,’ सैनिक प्रवक्ता पोखरेलले भने ।
भारतीय सेनाअध्यक्ष सिंहले संयुक्त सैनिक तालिमको अवलोकन गर्नुको साथै नेपाल भ्रमणका क्रममा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्नेछन् । उनले आफ्ना समकक्षी प्रधानसेनापति गौरवशमशेर राणासँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा र प्रतिआतंकवादका विषयमा छलफलसमेत गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । सेनाअध्यक्षका रूपमा सिंहको यो चौथो नेपाल भ्रमण हो । दुवै देशका सेनापति एक–अर्को देशको मानार्थ सेनापति हुने परम्परा छ । जनरल सिंहको भ्रमणका क्रममा सैन्य सहयोगबारे पनि छलफल हुने बुझिएको छ ।
संयुक्त अभ्यासमा भविष्यमा आईपर्ने बहुराष्ट्रियस्तरको विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयमा अनुभव आदान–प्रदान गर्ने काम भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सूर्य किरण भी–६ नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट विभिन्न दर्जाका गरी २ सय र भारतबाट २ सय ५० गरी ४ सय ५० सैनिक सहभागी छन् । संयुक्त अभ्यासको समापन आगामी ४ चैत्रमा हुने कार्यक्रम छ । रुपन्देहीको सालझन्डीमा रहेको नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा संयुक्त तालिम जारी छ । सो तालिमको शुभारम्भ गत २१ फागुनमा सैनिक विनय महानिर्देशनालयका महानिर्देशक उपरथी भिक्टर शमशेर राणाले गरेका थिए ।
प्रतिक्रिया