काठमाडौ, २२ फागुन । प्रधानमन्त्री सुशील कोइराला म्यान्मारको भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । बहुपक्षीय तथा आर्थिक सहयोगका लागि बंगालको खाडीमा प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री कोइराला बिहीबार स्वदेश फर्किएका हुन् । म्यान्मारको न्येप्यी ताओमा भएको बिमस्टेकको सम्मेलनमा भाग लिन उनी १८ फागुनमा त्यसतर्फ प्रस्थान गरेका थिए ।
सम्मेलनबाट फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताबाट क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको दृढ राजनीतिक प्रतिबद्धता व्यक्त भएको बताए । बिमस्टेकको अध्यक्षता नेपाललाई हस्तान्तरण भएबाट नेपालले क्षेत्रीय सहयोगका लागि निर्वाह गर्नुपर्ने भूमिकामा सदस्य राष्ट्रहरूको नेपालप्रतिको विश्वासमा थप अभिवृद्धि भएको कोइरालाको भनाइ छ । म्यानमार, नेपाल, बंगलादेश, भुटान, भारत, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकमा अंग्रेजी वर्णानुक्रमअनुसार सदस्य राष्ट्रमा अध्यक्षता सर्ने भएकाले नेपाल अध्यक्ष राष्ट्र बनेको हो ।
यता, सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्री कोइरालाले सम्मेलनले जारी गरेको घोषणापत्र सदस्य देशहरूका लागि महत्त्वपूर्ण रहेको बताउँदै यसले अति कमविकसित सदस्य राष्ट्रहरूको विकासको चुनौति सम्बोधन गरी आर्थिक विकास प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस क्षेत्रले सामना गरिरहेको जलवायु परिवर्तनको प्रभाव, भविष्यमा यसको नकारात्मक प्रभाव न्यूनीकरणका लागि गर्नुपर्ने पारस्परिक सहयोग र साझेदारीको विषय, गरिबी निवारण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति सम्मेलनमा भएको उनको भनाइ छ ।
शिखर सम्मेलनले आतंकवाद तथा अन्तरदेशीय अपराध, मानव तथा लागुऔषध बेचबिखन नियन्त्रण गर्ने विषयमा छलफल गरी ती विषयका मस्यौदालाई अन्तिम रूप दिने बारेमा पनि महत्त्वपूर्ण छलफल गरेको र सम्मेलनमा तीन वटा विषयमा सदस्य मुलुकबीच भएका समझदारीले बिम्स्टेकलाई अझ सुदृढ तुल्याउन बल मिलेको प्रधानमन्त्री कोइरालाले बताए ।
शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री कोइरालाले भारत, बंगलादेश तथा भुटानका प्रधानमन्त्रीहरू र श्रीलंका तथा म्यान्मारका राष्ट्रपतिसँग बेग्लाबेग्लै भेटवार्ता गरी द्विपक्षीय हितको विविध विषयमा छलफल गरेको जानकारी दिए । भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भएको भेटघाटमा प्रधानमन्त्री कोइरालाले सन् १९९१ देखि हुन नसकेको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सञ्चालन तथा दुई देशबीचको व्यापार, पारवहन, लगानी प्रवद्र्धनसम्बन्धी विषयमा छलफल भएकोसमेत बताए ।
त्यस्तै, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँगको भेटघाटमा प्रधानमन्त्री कोइरालाले भुटानी शरणार्थीे समस्या दीर्घकालीन रूपमा समाधानका लागि आफूले नेपालको स्पष्ट धारणा प्रस्तुत गरेको बताउँदै शरणार्थीले ससम्मान भुटान फर्कन पाउनुपर्ने विषयमा जोड दिएको उल्लेख गरे ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँगको भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा, पर्यटन, पारवहन, व्यापार विस्तारबारे विचार आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिए ।
म्यान्मारका राष्ट्रपति थेन सेनसँगको भेटमा दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना, लुम्बिनीको विकास तथा पर्यटन प्रवद्र्धन र श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षेसँगको भेटवार्तामा दुईपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको जानकारी प्रधानमन्त्री कोइरालाले दिए ।
त्यस्तै, प्रधानमन्त्री कोइरालाले म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीसँग पनि दुई देशका प्रजातन्त्रवादी नेतृत्त्वबीचको ऐतिहासिक तथा जनस्तरको सुमधुरसम्बन्ध एवं प्रजातन्त्र र विकासको अन्तरसम्बन्धबारे कुराकानी भएको बताए ।
प्रतिक्रिया