एमालेले नेतृत्त्व छनोटमा सर्वसहमतिको प्रयास

JN_fine copy
काठमाडौं २२ फागुन । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आगामी नवौँ महाधिवेशनमा नेतृत्त्व चयनका लागि सक्दो सर्वसम्मतिको प्रयास गरिने र सर्वसम्मत हुन नसके सहमतिका साथ निर्वाचन प्रक्रियामार्फत नेतृत्त्व चयन गरिने बताएका छन् । बुधबार सम्पन्न केन्द्रीय कमिटीको २६औँ बैठकको निर्णय सार्वजनिक गर्दै बिहीबार पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलनमा अध्यक्ष खनालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले स्थानीय निकायको निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्न सरकारसँग माग गरे । १६ वर्षसम्म स्थानीय निकायको निर्वाचन नहुँदा देशको विकासमा गम्भीर असर परेको उल्लेख गर्दै खनालले स्थानीय निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्नसमेत माग गरे । ‘मिति घोषणा गरिए हामी महाधिवेशनलाई पर सारेर स्थानीय निकायको निर्वाचनमा होमिन्छौँ,’ अध्यक्ष खनालले भने, ‘स्थानीय निकायको निर्वाचन जेठमा हुने भए हाम्रो पार्टीको महाधिवेशन पछि सार्न तयार छौँ ।’
पत्रकार सम्मेलनमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि सर्वसम्मतिकै लागिसक्दो पहल गरिने जानकारी दिए । सहमति हुन नसके प्यानल बनाएर चुनावबाटै नेतृत्त्व चयन गरिने उनको भनाइ थियो । त्यसैगरी, पत्रकार सम्मेलनमा टनकपुर भारतकै भू–भाग हो भनेर प्रधानमन्त्रीलाई उद्द्धृत गर्दै सार्वजनिक सञ्चार माध्यममा आएका अभिव्यक्तिप्रति केन्द्रीय कमिटीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराइएको थियो । ‘नेपालको सीमा क्षेत्र र सीमा नदीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विवाद जन्माएको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यससम्बन्धमा सरकारको दृष्टिकोण स्पष्ट पार्न बैठकले आग्रह गरेको छ ।’ एमालेले आगामी २४ देखि ३१ जेठसम्म पार्टीको नवौँ महाधिवेशन मिति तोकेको छ ।

प्रतिक्रिया