एमाले महाधिवेशन जेठमै

JN_fine copyकाठमाडौं २१ फागुन । ३ देखि ८ जेठसम्म काठमाडौंमा गर्ने भनिएको नेकपा एमालेको नवौँ महाधिवेशन पुन: सरेको छ । पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले तयारी नपुगेको भन्दै महाधिवेशन आगामी २४ देखि ३१ जेठसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
एमाले स्थायी कमिटीको बैठकले पहिलोपटक महाधिवेशन ९ देखि १३ बैशाखसम्म गर्ने निर्णय गरेको थियो । उक्त मितिमा तयारी नपुग्ने भन्दै सचिवालयले पार्टी महाधिवेशन पूर्वमहासचिव मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर ३ बाट ८ जेठसम्म गर्न प्रस्ताव पेस गरेको थियो ।
०६५ सालमा बुटबलमा सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय नेतृत्त्वको पदावधी १३ फागुनबाट समाप्त भएको थियो । निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने विधानमा व्यस्था भए पनि संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आ–आफ्नै तर्कका कारण महाधिवेशन मिति अनिर्णित बन्दै आएको थियो । अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता नेपाल पक्षधर वैचारिक बहसका लागि समय चाहिने भन्दै महाधिवेशन सार्ने पक्षमा थिए । संगठन विभाग प्रमुख युवराज ज्ञवालीले समेत जेठ पहिलो साता महाधिवेश गर्न नसकिने बताएका थिए ।
यता ओली र उपाध्यक्ष वामदेव गौतम पक्षधरको जोड भने निर्धारित मितिमै महाधिवेशन गर्नुपर्नेमा थियो । महासचिव इश्वर पोख्रेल र सचिव विष्णु पौड्यालले भने मिति सारेर भए पनि जेठभित्रै महाधिवेशन गर्नुपर्ने ‘मध्यमार्गी’ प्रस्ताव ल्याएका थिए । दुबै समूहलाई मान्य हुने गरी प्रोख्रेल र पौड्यालले ल्याएको ‘मध्यमार्गी’ प्रस्तावलाई आधार मानेर महाधिवेशन जेठ अन्तिममा गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
त्यसैगरी बुधबारकै बैठकले अख्तियार प्रमुख, संवैधानिक निकायका पदाधिकारी र राजदूतहरूमा भएका नियुक्तिलाई संसदीय सुनुवाईबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद्ले संसदीय सुनुवाई विना नै आठजना संवैधानिक पदाधिकारी, सर्वोच्च अदालतमा पाँचजना अस्थायी न्यायाधीश र दुईजना राजदूत नियुक्त गरेको थियो । चुनावी मन्त्रिपरिषद्ले सर्वोच्चका न्यायाधीश, अख्तियार प्रमुख, लोकसेवा आयोग, निर्वाचन आयोग र महालेखा परीक्षकको कार्यालयमा पदाधिकारी नियुक्त गरेको थियो ।
त्यसैगरी मलेसियाका लागि राजदूत र राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि पनि सोही अवधिमा नियुक्त भएका थिए । ती सबैमा संसदीय सुनुवाई हुुनु पर्ने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
खनाल दस्तावेज लेखन समिति सयोजक
बुधबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको दस्तावेज लेख्ने जिम्मा अध्यक्ष खनाललाई दिएको छ । दस्तावेज लेखन समितिको संयोजकमा खनाल र सहसंयोजक उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतम र पार्टी महासचिव ईश्वर पोखरेल सचिव रहेका छन् । एमालेले महाधिवेशनमा पेस गर्ने दस्तावेज लेखनका लागि उपाध्यक्ष गौतमको नेतृत्त्वमा समिति गठन गरे पनि उनले राजकीय जिम्म्मेवारी सम्हालेपछि त्यसमा फेरवदल गरिएको एमालेले जानकारी दिएको छ । त्यसैगरी बैठकले मुल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी महासचिव पोखरेललाई दिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । सचिव शंकर पोखरेलको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ ।
बुधबारकै केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारीसम्बन्धी कार्यसम्पादनको योजना बनाउन महासचिव पोखरेलको संयोजकत्वमा एक कार्यदलसमेत गठन गरेको गैरेले जानकारी दिए । ‘महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्ययोजना तयार पार्न पोखरेल संयोजक रहेको कार्यदललाईं ५ दिनको समय दिइएको छ,’ गैरेले भने, ‘महाधिवेशनको तयारीसम्बन्धी कार्यसम्पादनको योजनालाई कार्यदलले पाँच दिनभित्रमा तयार पारेपछि त्यसलाई स्थायी कमिटीले अनुमोदन गर्नेछ । कार्यदल सदस्यहरूमा सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र भीम रावलसहित रहेका छन् । बैठकले महाधिवेशन प्रतिनिधीको संख्या १८ सय हुने टुंगो लगाएको छ । प्रतिनिधिहरूको दर मिलाउने विधिबारे टुंगो गर्न भने बैठकले कार्यदललाई नै जिम्मा दिइएको छ । बैठकले केन्द्रीय कमिटी, लेखा आयोग, अनुसासन आयोग, निर्वाचन आयोगलगायत सदस्यलाई आयोजकसँगै स्वत: प्रतिनिधि बन्न पाउने बाटो खोलिदिएको छ । तर, त्यसको अनुमोदन भने महाधिवेशनको बन्दसत्रको पहिलो बैठकले गर्नेछ ।
त्यसैगरी बैठकले सुरेन्द्र पाण्डेको संयोजकत्त्वमा स्रोत व्यवस्थापन समिति, गंगाधर तुलाधारको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीको संयोजकत्त्वमा प्रचार समिति गठन गरेको छ । संगठन विभाग प्रमुख युवराज ज्ञवालीको संयोजकत्वमा प्रमाणीकरण समिति, विष्णु रिमालको संयोजकत्त्वमा मञ्च व्यवस्थापन समिति, योगेश भट्टराईको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन समिति र भीम रावलको संयोजकत्त्वमा स्वागत सत्कार समिति गठन गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया