‘क्रान्तिकारी शक्तिबीच एकता आवश्यक’

काठमाडौं, २१ फागुन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले क्रान्तिकारी शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् । एमाओवादीका मजदुर नेताहरूलाई बुधबार राजधानीमा पार्टी प्रवेश गराउँदै महासचिव थापाले क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
क्रान्तिकारी शक्तिहरूबीच एकता अपरिहार्य रहे पनि एमाओवादीसँग भने एकता हुन नसक्ने उनले बताएका छन् । एमाओवादीले धोका दिएका कारण पार्टी फुटेको भन्दै उनले अहिलेकै अवस्थामा पार्टी एकता सम्भव नभएको दाबीसमेत गरे । क्रान्ति सफल नहँुदै सफल भयो भनेर धोका दिएकै कारण पार्टी फुटेको हो, महासचिव थापाले पार्टी नेवा: राज्य कुपण्डोलमा आयोजित कार्यक्रममा भने, ‘धोका दिनेसँग भावनात्मक रूपमा मात्र एकता हुन सक्दैन ।’
क्रान्ति सफल नहँुदै सफल भयो भनेर धोका दिएको एमाओवादी जनताले सजाय दिएको भए पनि धोकाअनुसारको सजाय भने अझै नपुगेकोसमेत उल्लेख गरेका छन् । जनतालाई क्रान्ति पूरा भएको भ्रम छरेर एमाओवादीले धोका दिएकाले उनीहरूलाई अझै धेरै सजाय हुनुपर्ने उनले जिकिर गरे ।
कार्यक्रममा एमाओवादीप्रति निक्कै आक्रामक देखिएका महासचिव थापाले एमाओवादी सच्चिने सम्भवना भने अझै जिवितै रहेको पनि उल्लेख गरे । हारेको सेनाले पराजयबाट पाठ सिकेर सुध्रन सक्छ महासचिव थापाले भने, ‘एमाओवादीले पनि आफूलाई सुधार्न सक्ने सम्भावना भने सकिएको छैन ।’
महासचिव थापाले अहिलेको संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने ठोकुवा गरेका छन् । यो संविधानसभामा प्रतिक्रान्तिकारी शक्तिहरू हावी भएको उनको भनाइ छ ।
कार्यक्रममा थापाले यो संविधानसभार्फत ०४७ सालकै संविधान ब्यूँताउने षडयन्त्र भइरहेको आरोप पनि लगाएका छन् । (सौस)

प्रतिक्रिया